उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण

  • 26 अगस्ट 2017
परीक्षण तस्वीर कपीराइट AFP PHOTO/KCNA VIA KNS

संयुक्त राज्य अमेरिकाको सेनाले भनेको छ, उत्तर कोरियाले सानो दूरीका तीनवटा बलेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ।

एउटा वक्तव्यमार्फत अमेरिकी प्यासिफिक कमाण्डले जनाए अनुसार पहिलो र तेस्रो क्षेप्यास्त्र उडानमा विफल भएका थिए भने दोस्रो क्षेप्यास्त्र परीक्षणपछि विस्फोट भएको थियो।

उसले उत्तर कोरियाद्वारा गरिएको परीक्षणबाट गुआम टापुलाई कुनै खतरा नरहेको बताएको छ।

गत महिना अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि प्योङयाङले गुआममा क्षेप्यास्त्र हमला गर्ने अमेरिकालाई चेतावनी दिएको थियो।

गुआममा कुनैपनि बेला आक्रमण: उत्तर कोरिया

एक पाइला पनि पछि हट्दैनौँ: उत्तर कोरिया

तीव्रता

दक्षिण कोरयाली सेनाले उत्तर कोरियाले पूर्वी समुद्रमा थुप्रै क्षेप्यास्त्रहरु परीक्षण गरेको देखिएको जनाएको छ।

प्योङयाङले पछिल्ला महिनाहरुमा आफ्नो क्षेप्यास्त्र परीक्षण कार्यक्रममा तीव्रता दिएको छ।

तस्वीर कपीराइट AFP

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उत्तर कोरियाको ग्याङवान प्रान्तबाट प्रहार गरिएको क्षेप्यास्त्रले करिब २५० किलोमिटरको दूरी तय गरेको थियो।

स्थानीय समय अनुसार शनिवार बिहान ६ बजेर ४९ मिनेट जाँदा क्षेप्यास्त्र परीक्षण गरिएको दक्षिण कोरियाली सेनाले बताएको छ।

निगरानी

अमेरिकी प्यासिफिक कमाण्डका कमाण्डर डेभ बेन्हामले भनेका छन्, "पहिलो र तेस्रो क्षेप्यास्त्र विफल भएका थिए, दोस्रो क्षेप्यास्त्र तत्कालै विस्फोट भएको जस्तो देखिन्छ।"

३० मिनेटको अन्तरालमा ती क्षेप्यास्त्रहरुको परीक्षण गरिएको उनले बताए।

उत्तर कोरियाली रक्षामन्त्रीले भनेका छन्, "उत्तर कोरियाली उक्साहटको सामना गर्नका निम्ति हाम्रो सेनाले कडा निगरानी गरिरहेको छ।"

दक्षिण कोरियामा हजारौं अमेरिकी तथा दक्षिण कोरियाली सेनाले अहिले संयुक्त अभ्यास गरिरहेका छन्।

दुई देशको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाले निरन्तर विरोध जनाउँदै आएको छ।