'निर्वाचन क्षेत्र निर्धारणको काम पूरा'

  • 26 अगस्ट 2017

चुनावको मिति घोषणा भइसकेकाले निर्वाचन आयोगले क्षेत्र निर्धारणको निम्ति सरकारलाई अत्याइरहेका बेला निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रदेश र प्रतिनिधि सभाको क्षेत्रको टुंगो लगाएको बताएको छ।

आयोगका अनुसार प्रतिवेदनलाई अन्तिम रुप दिन लेखन कार्य शूरु भएको छ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा आयोगका अध्यक्ष कमलनारायण दासले सम्बन्धित क्षेत्रका जनप्रतिनिधि, विज्ञ र सम्बद्ध अधिकारीसँगको परामर्शमा काम पूरा गरेको बीबीसीलाई जानकारी दिए।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किए लगत्तै प्रतिवेदन बुझाउने तयारी रहेको बताउँदै आयोगका अध्यक्ष दासले भने, ''हामीले निर्वाचन क्षेत्र टुक्र्याउने काम सिद्ध्यायौं। शनिबारबाट प्रतिवेदन लेखनको काम शूरु भएको छ।''

निर्धारित

संविधान अनुसार प्रतिनिधि सभाका २४० निर्वाचन क्षेत्रलाई घटाएर १६५ मा झारिएको र ७ वटा प्रदेशमा ३३० वटा क्षेत्र निर्धारण गरिएको अधिकारीहरुले जनाएका छन्।

आयोगले शुरुमा २१ दिन र पछि १५ दिन थप समय पाएको थियो।

निर्धारण गरिएका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये प्रदेश नम्बर ३ मा सबैभन्दा धेरै र प्रदेश नम्बर ६ मा सबैभन्दा कम क्षेत्र निर्धारण गरिएको बताइएको छ।

काठमाण्डू जिल्लामा सबैभन्दा धेरै र मनाङ जिल्लामा सबैभन्दा कम निर्वाचन क्षेत्र रहेको आयोगका पदाधिकारीले जनाएका छन्।

दबाब

आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेलले भने, ''अब सबै काम पुरा गरेर सम्पूर्ण विषयवस्तु नेपाल सरकारमार्फत सम्बन्धित सरोकारवालासमक्ष पुग्ने गरी हामीले प्रतिबेदन बुझाउँदैछौं।''

संविधानमा जनसंख्या र भूगोलको आधारमा प्रदेश र प्रतिनिधि सभाका ४ सय ९५ वटा निर्वाचन क्षेत्र निर्धारण गरिने उल्लेख छ।

विवाद निम्तिने आशंका औंल्याउँदै आयोगका पदाधिकारीहरुले क्षेत्र निर्धारणका आधार र मापदण्डको प्रतिशतबारे मुख खोल्न मानेनन्।

राजनीतिक दलबाट रचनात्मक सुझाव प्राप्त गरेको बताउँदै उनीहरुले हालसम्म कुनै दबाबको सामना गर्नु नपरेको बताए।

विगतमा स्थानिय तहको क्षेत्र निर्धारण आयोगले चर्को राजनीतिक दबाब व्यहोर्नु परेको बताइएको थियो।