भक्तले छाड्न थाले गुरु राम रहिमलाई

  • 27 अगस्ट 2017
गुरमीत राम रहिम सिंह तस्वीर कपीराइट AFP/getty

बलात्कारमा दोषी पाइएपछि हाल कैदमा रहेका भारतीय गुरु गुरमीत राम रहिम सिंहको हरियाणा राज्यस्थित मुख्यालयबाट उनका अनुयायीहरु बाहिरिन थालेका छन्।

गत साता उनी विरुद्ध पंचकुला नगरस्थित एक अदालतले फैसला गरेपछि सो नगर तथा उनको मुख्यालय रहेको सिर्सामा हिंसा फैलिएको थियो। ती हिंसाका कारण ३६ जनाको ज्यान गयो।

हिंसापछि उत्तर भारतमा उच्च सतर्कता

गुरु बलात्कारी ठहरिंदा भारतमा हिंसा

को हुन् गुरु राम रहीम?

डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहिमका भक्तहरुले सिर्सामा कैयौं एकडमा फैलिएको मुख्यालय विस्तारै छाड्न थालेका छन्।

बीबीसीका संवाददाता फैसल मोहम्मद अलीका अनुसार उक्त मुख्यालयमा ती गुरुका हजारौं अनुयायी बस्छन्। तर विस्तारै तिनले सो ठाउँ छाड्न थालेका छन्।

त्यसरी मुख्यालय छाडिरहेका गुरुका भक्तहरुसंग बीबीसीले कुराकानी गर्न कोशिश गर्दा भने उनीहरु अनकनाए। तर केही भक्तले चाहिं आफूहरु घरतिर जान लागेको बताए।

डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहिमका दशौं लाख अनुयायी विश्वभर रहेको बताइन्छ।

त्रास

१५ वर्ष अघि दुईजना महिलालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका ती गुरुमाथि सजाय भने सोमबार तोकिनेछ।

त्यसैले अधिकारीहरुमाझ हिंसा पुन: चर्कने त्रास छ।

आफ्नो मासिक 'मनकी बात' नामक रेडियो सम्बोधनमा बोल्दै भारतीय प्रधानमन्त्रीले आस्थाका नाममा मच्चाइने हिंसा सह्य नहुने बताएका छन्।