यथास्थिति फेर्दै चीन: भारतीय सेनापति

  • 27 अगस्ट 2017
विपिन रावत तस्वीर कपीराइट PIB

भारतीय सेनाका प्रमुख जनरल विपिन रावतले चीनले डोक्लामस्थित सीमा इलाकामा यथास्थिति बदल्ने कोशिश गरिरहेको चेतावनी दिएका छन्।

सिक्किम, भुटान र तिब्बतको सीमामा रहेको डोक्लाममा जारी विवादको निम्ति चीन जिम्मेवार रहेको उनको आरोप छ।

समाचार विवरणहरुका अनुसार उनले विवाद हुन सक्ने तर त्यसका कारण अन्तर्राष्ट्रिय सम्बन्ध पूरै खत्तम भने नहुने बताए।

पुणे शहरमा 'मौजुदा भू-राजनीतिक स्थितिमा भारतका चुनौति' विषयमा आयोजित 'जनरल बीसी जोशी लेक्चर' मा बोल्दै उनले उक्त टिप्पणी गरेका हुन्।

चेतावनी

जनरल रावतले चीनले भारतसंगका उसका सीमा क्षेत्रमा यथास्थिति बदल्ने कोशिश गरिरहेको भन्दै हाल डोक्लाममा उत्पन्न विवाद 'त्यसैको परिणाम' भनेका छन्।

उनका अनुसार आउने दिनमा डोक्लाम जस्ता घटना अझ बढ्न सक्छ।

लद्दाख क्षेत्रमा हालै चिनियाँ र भारतीय सैनिकबीच भएका झडपलाई लिएर जनरल रावतले त्यस्ता मुद्दा सौहार्दपूर्ण ढंगले सुल्झाउन पहिले देखिनै एक साझा व्यवस्था कायम रहेको बताए।

यस क्षेत्रको सुरक्षामा दबदबा बढाउन चीनले लगातार यस्ता कोशिश गरिरहेको उनको भनाइ थियो।