उत्तर कोरियाली कदमपछि रुस चिन्तित

  • 29 अगस्ट 2017
क्षेप्यास्त्र

रुसले जापानी आकाशमाथि क्षेप्यास्त्र प्रहार गर्ने प्योङ्याङ्को निर्णयबाट आफू एकदमै चिन्तित भएको जनाएको छ।

रुसका उपविदेश मन्त्री सेर्गेई र्याबकोभले भनेका छन् उत्तर कोरियाको परमाणु अस्त्र कार्यक्रम बारेको विवाद चर्कने क्रममा रहेको देखिएको छ।

उनले उत्तर कोरियालाई भड्काएको भनेर संयुक्त राज्य अमेरिका र दक्षिण कोरियालाई दोष दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन् पछिल्लो क्षेप्यास्त्र प्रहार गरेर उत्तर कोरियाले उस्का छिमेकी र संयुक्त राष्ट्र संघको अपमान गरेको छ।

उनले सबै विकल्पहरु वार्ताको टेबलमा रहेको बताएका छन्।

पूर्वाभ्यास

दक्षिण कोरियाली र अमेरिकी सैनिकहरुले उत्तर कोरियासंगको सिमा क्षेत्रमा संयुक्त सैन्य अभ्यास गरिरहेका छन् जस्लाई प्योङ्याङ्ले सैनिक अतिक्रमणको पूर्वाभ्यास भनेको छ।

उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारलाई जापानका प्रधानमन्त्री शिन्जो आबेले आफ्नो देशका सामु उत्पन्न अभूतपूर्व खतरा भनेका छन्।

कोरियाली समय अनुसार मंगलबार विहान प्रक्षेपण गरिएको उक्त क्षेप्यास्त्र जापानको होक्काइडो टापु माथिको आकाशबाट उडेर समुद्रमा खसेको थियो।

तस्वीर कपीराइट Reuters

उत्तर कोरियाले हालै विभिन्न क्षेप्यास्त्र प्रक्षेपण गरेर अन्तर्राष्ट्रिय समुदायलाई केही बेचैन तुल्याइदिएको छ।

'सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइयोस्'

जापानी आकाशमा उत्तर कोरियाली क्षेप्यास्त्र

अस्त्र

जापानको आकाशमाथि ब्यालेष्टिक अस्त्र प्रक्षेपण गरिएको भने यो पहिलो पटक हो।

यसअघि सन् १९९८ र २००९ मा जापानको आकाश भएर उत्तर कोरियाका रकेटहरु उडेका थिए।

तर त्यसबेला उत्तर कोरियाले ति रकेटहरु कुनै अस्त्र नभई भूउपग्रह प्रक्षेपणका वाहनहरु भएका बताएको थियो।

टोक्योमा रहेका बीबीसी सम्बाददाता रुपर्ट वींगफील्ड हेस भन्छन् यो पछिल्लो प्रक्षेपणमा प्रयोग भएको क्षेप्यास्त्र परमाणु अस्त्र बोक्न सक्ने क्षमता सहितको शक्ति भएको जस्तो देखिएको छ।

जापानले उक्त क्षेप्यास्त्रलाई अर्को अस्त्र प्रहार गरेर खसाल्ने प्रयास गरेन तर होक्काइडोमा रहेका आफ्ना नागरिकहरुलाई बलिया भवनहरु वा भूमिगत कक्षहरुमा गई आश्रय लिन भन्दै सूचना जारी गरेको थियो।