टेक्सस उद्धार उदाहरणीय बनोस्: ट्रम्प

  • 30 अगस्ट 2017
राष्ट्रपति ट्रम्प
Image caption राष्ट्रपति ट्रम्पले उद्धार कार्य उदाहरणीय बनाउन आग्रह गरेका छन्

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भीषण आँधीपछि आएको मुसलधारे वर्षाकाबीच प्रभावित टेक्सस राज्यको भ्रमण गरेका छन्।

ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प आँधीले गत शुक्रबार सबभन्दा पहिले हानेको ठाउँ कर्पस क्रिष्टि पुगेका हुन्।

गभर्नर ग्रेग एबटले टेक्ससबासीलाई आइलागेको विशाल चुनौती राष्ट्रपति ट्रम्पले बुझुन् भन्ने आफूले चाहेको बताए।

अभूतपूर्व बाढीले हजारौंमानिसलाई घर छोड्न बाध्य बनाएको छ खासगरी ह्युष्टन क्षेत्रमा जहाँ दुई जलाशय भरिएर पानी बाहिर बगेको छ।

प्रयत्न

कम्तीमा ११ जना मारिएका छन्, त्यसमा एउटै परिवारका ६ सदस्य पनि परेका छन् जसको भ्यान बाढीले बगाइदिएको थियो।

त्यसैगरी पौडेर सुरक्षित स्थलतर्फ जाने प्रयत्न गरेका ६० वर्षजतिका पुरुषको पनि डुबेर मृत्यु भएको थियो।

उद्धारकर्ताहरु अझ पनि अड्किरहेका मानिसहरुकहाँ पुग्ने प्रयत्न गरिरहेका छन्।

टेक्ससमा पुग्ने वित्तिकै राष्ट्रपति ट्रम्पले आँधी आउँदा के गर्नुपर्छ भन्ने उदाहरण बन्ने किसिमको उद्धार प्रयत्न होस् भन्ने आफूले चाहेको बताए।

उनले भने, "यो भन्दा अघिका कुनै पनि उद्धार प्रयत्न भन्दा अहिलेको राम्रो होस् भन्ने हामी चाहन्छौं।"

उनले टेक्सस र बुधबार हार्भी आँधीले हान्ने अनुमान गरिएको नजिकैको अर्को राज्य लुजियानामा संकटकाल घोषणा गरिसकेका छन्।