१८ हजार रोहिंज्या भागेर बांग्लादेशमा

  • 30 अगस्ट 2017
रोहिंज्या तस्वीर कपीराइट Reuters

बांग्लादेशमा अवस्थित अन्तर्राष्ट्रिय आप्रवसन संगठन, आइओएम ले भनेको छ गत एक हप्तामा छिमेकको म्यानमारको रखाइन प्रान्तबाट १८ हजारभन्दा बढी रोहिंज्या मुसलमानहरु भागेर बांग्लादेश प्रवेश गरेका छन्।

तिनीहरुलाई आपतकालिन आश्रय र खानेकुरा उपलब्ध गराइरहेका सहायताकर्मीहरुले भनेका छन् नयां आएका झण्डै एकदर्जन शरणार्थीहरुको शरिरमा गोलीको ताजा घाउ समेत छ।

दुई देशबीचको क्षेत्रमा अझै पनि हजारौं मानिसहरु अलपत्र रहेका हुनसक्ने अनुमान गरिएको छ।

गत शुक्रबार सैनिक प्रतिक्रिया निम्त्याउने गरी रोहिंज्या विद्रोहीहरुले तीसवटा प्रहरी चौकीहरुमा आक्रमण गरेपछि यो पछिल्लो सकंट देखा परेको हो।

विद्रोही

म्यानमारको रखाइन प्रान्तमा भएको पछिल्लो हिंसात्मक घटनामा कम्तीमा एकसयजना मानिसको मृत्यु भएको बताइएको छ, जसमध्ये धेरै जसो विद्रोहीहरु रहेका जनाइएको छ।

शुक्रबारको हमलापछि भएको सैनिक कार्वाहीका क्रममा रोहिंज्याहरुको जथाभावी ज्यान लिने गरिएको, बलात्कार र यातनाका घटनाहरु चर्केको व्यापक आरोपहरु लगाइएको छ।

परिणाम स्वरुप ठूलो संख्यामा रोहिंज्याहरु भागेर बांग्लादेश पसेको बताइएको छ।

तस्वीर कपीराइट AFP

सो प्रान्तबाट प्राप्त जानकारीको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन किनकी निकै थोरै पत्रकारहरुलाई त्यहां जान दिइएको छ।

पहुंच

आइओएमका प्रवक्ता पेपी सिदिकले बीबीसीसंग कुरा गर्दै दशगजा क्षेत्रमा अझै हजारौं मानिस अलपत्र रहेका र त्यस क्षेत्रमा आफूहरुको पहुंच नभएको बताएका छन्।

उनका अनुसार म्यानमारबाट भागेर बांग्लादेश छिरेकाहरु केहीसंग थोरै कपडा र भांडाकुंडा छन्, बांकी सबथोक छाडेर तिनीहरु भागेका आएका छन् र तिनीहरुलाई तत्काल आश्रयस्थल र खानेकुराको आवश्यकता छ।

रखाइन म्यानमारको सबैभन्दा गरिब क्षेत्र हो जहां दश लाख भन्दा बढी रोहिंज्याहरु बसोबास गर्ने गर्छन्।

तिनीहरुले मुख्यत: बौद्धमार्गीहरुको बाहुल्य रहेको म्यानमारमा कडा बन्देजहरुको सामना गर्नु परेको बताउंछन्।

र बहुसंख्यक समुदायसंगको तिनीहरुको तनाव वर्षौं देखि जारी रहेको छ।