मुम्बईमा भवन भत्किँदा ११ जनाको मृत्यु

  • 31 अगस्ट 2017
उद्धार तस्वीर कपीराइट MUMBAI FIRE BRIGADE

भारतको मुम्बईमा एउटा भवन भत्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २४ जनाको उद्धार गरिएको छ।

उद्धार अधिकारीहरुका अनुसार पाँचदेखि १० मानिस अझैं फसेका छन्।

भारतको आर्थिक राजधानीमा बिहीबार भवन भत्किएको थियो।

निकै बाक्लो बस्ती रहेको भेन्डी बजारमा रहेको उक्त भवन एक सय वर्ष पुरानो भएको ठानिएको छ।

कमजोर

एम्बुलेन्स, दमक र उद्धारकर्मीहरुले घटनास्थलमा अझैं काम गरिरहेका छन्।

मुम्बई भारी वर्षा र बाढीबाट तङ्ग्रिँदै छ।

एक महिनाभित्र भत्किएको यो तेस्रो भवन हो।

तस्वीर कपीराइट AMIR KHAN

प्रहरीले भत्किएको भवन मंगलबारको भारी वर्षाका कारण कमजोर बनेको हुनसक्ने आशंका गरेको छ।

प्रश्न

बीबीसीका एकजना संवाददाता भन्छन्, मुम्बईमा मानिसहरुलाई पुराना र जीर्ण भवनमा बस्न किन अनुमति दिइन्छ भन्ने प्रश्न उठ्न भने सक्छ।

महानगर अधिकारीहरुले जोखिमपूर्ण भवन खाली गर्न र तिनलाई भत्काउने प्रयास तीव्र पारेको बताएका छन्।

मुम्बईमा भवनको मूल्य र भाडा एसियाकै उच्च मानिन्छ।

खासगरी वर्षाको समयमा भारतमा भवन भत्किएर दुर्घटना हुनु अस्वाभाविक मानिदैँन।

भारतमा भवन भत्किँदा हरेक वर्ष कयौं मानिसको मृत्यु हुने गर्छ।