म्यानमारः विद्रोहीको युद्धविराम अस्वीकार

  • 11 सेप्टेम्बर 2017
सेना तस्वीर कपीराइट Getty Images/AFP

म्यानमार सरकारले रोहिंज्या मुस्लिम विद्रोहीद्वारा एकतर्फी रुपमा गरिएको युद्धविराम घोषणा अस्वीकार गरेको छ।

नेतृ आङ सान सूचीका प्रवक्ताले म्यानमार सरकारले 'आतंकवादीहरुसँग वार्ता नगर्ने' ट्वीटरमार्फत बताएका छन्।

यसअघि आइतवार आर्कन रोहिंज्या साल्भेशन आर्मी (आर्सा) ले मानवीय सहायता पुर्‍याउन दिन भन्दै एक महिनाका लागि युद्धविराम घोषणा गरेको थियो।

आर्साले गत २५ अगस्टमा प्रहरीमाथि आक्रमण गरेपछि सेनाले सैनिक कारबाही शुरु गरेको थियो।

रोहिंज्या रोक्न नेपालद्वारा सीमामा कडाइ

रोहिंज्या संकटमा मोदीको हिन्दु कार्ड!

कारबाही

सैनिक कारबाही शुरु भएयता तीन लाख रोहिंज्या मुस्लिमहरु छिमेकी बांग्लादेशतर्फ भागेका छन्।

रोहिंज्याहरु बौद्धमार्गी बहुल म्यानमारका मुख्यतः मुस्लिम अल्पसंख्यक हुन्।

राज्यविहीन रोहिंज्याहरुले रखाइन बौद्धमार्गी र सेनाले गाउँ जलाउँदै आफूहरुविरुद्ध क्रुर अभियान चलाएको बताउँछन्।

तस्वीर कपीराइट Getty Images/AFP

म्यानमारले त्यसलाई अस्वीकार गर्दै आएको छ र सेना रोहिंज्या 'आतंकवादी'सँग लडिरहेको बताउने गरेको छ।

विद्रोही समूहले सुरक्षा फौजलाई उनीहरुको जस्तै युद्धविराम गर्न र मानवीय सहायताकर्मी संस्थाहरुलाई आफ्नो काम पुन: शुरु गर्न आग्रह गरेका थिए।

संयुक्त राष्ट्रसंघले सहायता समूहलाई ७ करोड ७० लाख डलर आवश्यक पर्ने बताएको छ।