रोहिंज्याको अवस्था 'अत्यन्त दयनीय'

  • 14 सेप्टेम्बर 2017
रोहिंज्या तस्वीर कपीराइट EPA
Image caption म्यानमारमा गत महिना हिंसा सुरु भएयता करिब ३ लाख ७९ हजार रोहिंज्या भागेर बाँग्लादेश पुगिसकेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिवका अनुसार म्यान्मारको मुसलमान समुदाय अत्यन्त दयनीय मानवीय संकटको अवस्था भोगिरहेका छन्।

एन्टोनियो गुटेरेस्‌को भनाइमा म्यानमारको सुरक्षा फौजले रोहिंज्याका गाउँ वस्तीमा गरेका भनिएका आक्रमणहरु अस्वीकार्य छन्।

म्यान्मारको सेनाले चाहिँ उस्ले त्यहाँका विद्रोहीहरुविरुद्ध कारबाही गरिरहेको र गैरसैनिकहरुलाई निशाना नबनाइएको बताएको छ।

राष्ट्रसंघीय सुरक्षा परिषद्ले म्यान्मारमा जारी हिंसा रोक्न तत्काल कदमहरु चाल्न आग्रह गरिसकेको छ।

गत महिना हिंसा सुरु भएयता करिब ३ लाख ७९ हजार रोहिंज्या भागेर बाँग्लादेश पुगिसकेका छन्।

कैयौं गाउँहरु जलाइएका विवरणहरु सार्वजनिक भएका छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
भाग्दा साथमा के थियो?

विभेद

रोहिंज्याहरु बौद्धमार्गीहरुको बाहुल्यता रहेको रखाइन राज्यका बासिन्दा हुन् जसले म्यानमारमा विभेद र ज्यादती भोग्दै आएका छन्। म्यानमारको भनाइमा उनीहरु गैरकानुनी आप्रवासी हुन्।

कैयौं पुस्तादेखि म्यान्मारमा बसोबास गर्दै आएका रोहिंज्याले नागरिकता पाउन सकेका छैनन्।

गुटेरेस्‌ले रोहिंज्या शरणार्थीका लागि सहयोग जुटाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।

"मानवीय अवस्था निकै दयनीय भइसकेको छ। गत साता करिब १ लाख २५ हजार रोहिंज्या बाँग्लादेश पुगेका थिए। अहिले त्यो संख्या तीन गुणाले बढेर करिब ३ लाख ८० हजार पुगिसकेको छ।"

कुपोषण

शरणार्थीहरु अहिले अस्थायी शिविरमा बसेर आफ्नो खानेकुरा बाँडीचुँडी खाइरहेका छन्। महिला र बालबालिकामा कुपोषणको समस्या देखिएको छ।

त्यो परिस्थितिलाई जातीय सफाय मान्न सकिन्छ भन्ने प्रश्नको जवाफमा गुटेरेस्‌ले भने, "रोहिंज्याको जनसंख्याको एक तिहाइले देश छोडिसकेका छन् - यो अवस्थालाई बयान गर्न के तपाईँसँग त्यो भन्दा राम्रो शब्द छ?

राष्ट्रसंघका महासचिवले सेनासँग लडिरहेको रोहिंज्या मुक्ति सेना अर्थात् रोहिंज्या स्याल्भेशन आर्मी (एआरएसए)ले गरेका आक्रमणहरुको पनि आफूले भर्त्सना गरिसकेको बताए।