‘एउटै सुईबाट सबै खोप लगाउन सकिने’

  • 16 सेप्टेम्बर 2017
खोप तस्वीर कपीराइट Science Photo Library

अमेरिकी अनुसन्धानकर्ताले बाल्यावस्थामा लगाइने सबै खोप भविष्यमा एउटै सुईमार्फत लगाउन सकिने एउटा प्रविधिको विकास गरेका छन्।

एकचोटिमै दिन सकिने उक्त सुईमा कप आकारको निकै सानो क्याप्सुलले शुरुवाती खोपको पहिलो मात्रा छाड्नेछ र त्यसपछि समय-समयमा वृद्धि गर्ने 'बुस्टरहरु' दिइनेछ।

जर्नल साइन्समा उल्लेख गरिएअनुसार मुसामा गरिएको अध्ययनबाट उक्त प्रयोगले काम गरेको देखिएको छ।

अनुसन्धानकर्ताले उक्त प्रविधि विश्वभरनै बिरामीका लागि सहयोगी हुन सक्ने बताएका छन्।

समावेश

विशेषगरी बाल्यावस्थामा लगाइने खोपहरु एकदम दुखाउने खालका हुन्छन् जसले गर्दा बालबालिकाहरु रुने र चिच्याउने गर्छन्।

भ्यागुते रोग, लहरेखोकी, पोलियो, इन्फ्लुएन्जा टाईप बी र हेपाटाइटिस बी, दादुरा, रुबेलाविरुद्ध लगायतका खोप बाल्यावस्थामा लगाइन्छन्।

मासाचुसेस्ट्स इन्स्टियुट अफ टेक्नोलोजी (एमआइटी)ले नयाँ प्रकारको 'माइक्रोपार्टिकल' अर्थात् स-साना कण तयार पारेका छन् जसमा सबै खोप एउटैमा समावेश गरिएको हुन्छ सक्छ।

तस्वीर कपीराइट Getty Images

मुसामा गरिएका परीक्षणहरुमध्ये एउटाले उक्त खोपमा राखिएका मात्रा ठ्याक्कै नौ, २० र ४१ दिनपछि दिन सकिने देखाएको छ।

महत्त्वपूर्ण

सय दिनसम्म टिक्न सक्ने त्यस्ता कण पनि तयार पारिएको अनुसन्धानकर्ताले बताएका छन्।

उक्त प्रयोग हालसम्म मान्छेमा चाहिँ गरिएको छैन।

खासगरी डाक्टरहरु सजिलै नपाउने विकासशील मुलुकका निम्ति उक्त प्रविधि निकै फलदायी हुने अनुसन्धानकर्ताहरुको विश्वास छ।

एमआइटीका प्राध्यापक रोबर्ट लांगरले भने, "हामी यो कामबारे निकै उत्साहित छौँ। खासगरी विकासशील मुलुकका बिरामीहरुका लागि यो निकै महत्त्वपूर्ण हुनेछ।"