रोहिंज्याका लागि '१० दिनभित्रै नयाँ शिविर'

  • 17 सेप्टेम्बर 2017
रोहिंज्या तस्वीर कपीराइट AFP
Image caption कैयौं रोहिंज्या आप्रवासीहरु शिविरमा छन् कोही त खुला आकाशमुनी बसिरहेका छन्

अधिकारीहरुले कक्स बजार नजिकै दश दिनभित्र चार लाख जति मान्छे अटाउने गरी शिविर बनाउने बताएका छन्।

मुख्यत मुस्लिम बहुल रोहिंज्याहरु म्यानमार सरकारको कारबाहीका कारण गत महिनादेखि म्यानमार छोडेर भागिरहेका छन् जसलाई संयुक्त राष्ट्रसंघले जातीय सफाया बताएको छ।

स्थानीय अखबार डेली स्टारका अनुसार ८ वर्ग किलोमिटर जमीनमा नयाँ शिविर बनाइनेछ। ८५०० अस्थायी शौचालय बनाइने छ।

नयाँ आवास दश दिनभित्रै बनाइने बताइएको छ। १४ हजार घर बनाइनेछ।

'अव्यवहारिक' योजना

बीबीसीका जनाथन हेड भन्छन्, दश दिनको समयसीमा अव्यवहारिक देखिन्छ।

दशौं हजार रोहिंज्याहरु कुनै आवास बिना थोरै खानेकुरा खाएर बाँचिरहेका छन् र उनीहरु बांग्लादेश आउने क्रम रोकिएको छैन।

रोहिंज्या शरणार्थीको आवतजावतमा कडाइ

अहिलेसम्म उनीहरुलाई सहयोग गर्न कसैले राम्रो योजना सार्वजनिक गरिसकेको छैन।

बांग्लादेश प्रहरीले रोहिंज्याहरुको आवत जावतमा कडाई गर्दै उनीहरु आफ्ना नातेदार या साथीभाइकहाँ बस्न नपाउने बताएको छ।

तस्वीर कपीराइट AFP
Image caption बांग्लादेशका सुरक्षा फौजले सीमा नजिकै रहेका शरणार्थी शिविरमा पहरा दिइरहेका छन्

त्यसैगरी रोहिंज्याहरुलाई सवारी साधनमा यात्रा नगराउन र घर भाडामा नदिन भनिएको छ।

तनाव

विश्लेषकहरुका अनुसार बांग्लादेश सरकार रोहिंज्याहरु त्यहाँको जनसंख्यामा नहराउन् र म्यानमार नै फर्कुन् भन्ने चाहन्छ।

बांग्लादेश र म्यानमारबीच तनाव बढिरहेको छ।

शनिबार संयुक्त राष्ट्र संघीय महासभामा जान लागेकी प्रधानमन्त्री शेख हसिनाले राष्ट्रसंघसँग म्यानमारमाथि दबाब बढाउन अनुरोध गर्ने बताएकी छन्।

राष्ट्र संघको सुरक्षा परिषदले म्यानमारलाई हिंसा रोक्न भनिसकेको छ तर कुनै नाकाबन्दी लगाएको छैन।