ढुक्क भएर मतदान गर्न आयोगको आग्रह

  • 17 सेप्टेम्बर 2017
निर्वाचन आयुक्त

विभिन्न आलोचना खेपिरहेको निर्वाचन आयोगले प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तहको मतदान स्वतन्त्र, धाँधली रहित र निष्पक्षरुप हुने दा‍बी गरेको छ।

मतदानको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आयोगकातर्फबाट मतदानपूर्वको सबै तयारी पूरा भएको बताएका छन्।

सुरक्षा निकायले पर्याप्त सुरक्षा व्यवस्था मिलाएको भन्दै उनले निर्धक्क भएर मतदानमा भाग लिन मतदातालाई आग्रह गरेका छन्।

तीन पटकसम्म सारिएको प्रदेश नम्बर २ का ८ वटा जिल्ला बारा, पर्सा, रौतहट, महोत्तरी, सिरहा, सर्लाही, धनुषा र सप्तरीका १३६ वटा स्थानीय तह गठनको निम्ति मतदान हुन लागेको छ।

निष्पक्ष

केही जिल्लाको स्थलगत अवलोकन गरेर फर्किएका सप्तरी जिल्लामा मतदाता रहेका प्रमुख निर्वाचन आयुक्त यादव पत्रकार सम्मेलनमा निकै उत्साही देखिन्थे।

त्यस प्रदेशका २६ लाख ५० हजार मतदाता भोट खसाल्न आतुर रहेको अनुभूति लिएर आफू त्यहाँबाट फर्किएको उनको भनाइ छ।

मूलत: निर्वाचनको तयारीमा केन्द्रित लिखित वक्तव्यमा यादवले सबै तयारी पूरा भएको बताउँदै भने, "निर्वाचनमा भरपर्दौ सुरक्षा व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी भए हुन्छ। हाम्रा कर्मचारी मतदाताका गाँउ-टोलमा पुगिसेका छन्। यो निर्वाचनलाई जनप्रतिनिधि छनौट गर्ने पर्वका रुपमा मनाउन आयोग मतदातालाई अपिल गर्दछ।"

मतदानबाट एक महानगरपालीका, तीन उपमहानगरपालीका, ७३ नगरपालिका र ५९ गाँउपालिकामा उम्मेद्वार निर्वाचित हुनेछन्।

मतदानका लागि ३५ सय मतदान केन्द्र निर्धारण गरिएका छन्।

दाबी

निर्वाचन प्रचारका क्रममा दल र उम्मेदवारले भोज भतेर गर्नुका साथै बालबालिकाको समेत निकै प्रयोग भएको समाचारहरु आइरहँदा प्रमुख निर्वाचन आयुक्त यादव उल्लंघनका घटना ज्यादै न्यून पाइएको दाबी गरे।

उनले भने, "तुलानात्मक रुपमा आचार संहिता शत-प्रतिशत पालना भएको छ। आयोगले तोके अनुरुप पोष्टर बनाइएको पाइयो। कतै भित्ते लेखन भएका छैनन्। तुल, ब्यानर छैनन्, साना उल्लंघन कतै-कतै भएका हुन।"

मतदाता परिचयपत्र नपाएका र हराएकालाई नागरिकता लगायतका सरकारी परिचय-पत्रका आधारमा मतदान गर्न दिने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा आवश्यक पदभन्दा झण्डै ६ गुणाभन्दा बढी उम्मेद्वारी परेकोमा करिब ४० प्रतिशत महिला छन्।

नगर र गाउँपालिकाको नेतृत्वको निम्ति पुरुषको तुलनामा महिलाको संख्या ज्यादै न्युन छ। नगर उपप्रमुख वा उपाध्यक्षमा पुरुषको भन्दा महिलाको संख्या धेरै छ।