“पृथकतावादीहरुबाट प्रजातन्त्रमाथि हमला”

  • 11 अक्टोबर 2017
मारिआनो राखोई तस्वीर कपीराइट EPA

स्पेनका प्रधानमन्त्री मारिआनो राखोईले स्वतन्त्रताका लागि क्याटलोनिया क्षेत्रले गरेको प्रयासप्रति आफ्नो सरकारले चालेको कदमको बचाउ गरेका छन्।

स्पेनी संसदलाई सम्बोधन उनले पृथकतावादी अधिकारीहरुलाई देशको प्रजातन्त्रमाथि खतरनाक हमला गरेको आरोप लगाएका छन्।

त्यसअघि उनले क्याटलोनिया क्षेत्रले स्वतन्त्रता घोषणा गरेको हो वा होइन भनेर क्याटलान अधिकारीहरुसंग औपचारिक स्पष्टिकरण मागेका थिए।

प्रधानमन्त्री राखोईको कार्यलाई क्याटलोनिया क्षेत्रमा मड्रिडको प्रत्यक्ष शासन लागु गर्न पाइने तर यसअघि प्रयोग नगरिएको संवैधानिक प्रावधानलाई सकृय तुल्याउने सम्भावना तर्फको पहिलो कदमका रुपमा हेरिएको छ।

क्याटलान नेता कार्लेस पुज्डमोनले स्वतन्त्रता घोषणामा सहि गरेर त्यसको कार्यान्वयनलाई तुरुन्तै स्थगन गरेको एकदिनपछि देशको मन्त्रीमण्डलको आकस्मिक बैठक बसेको थियो।

जनाउ

त्यसपछि स्पेनी प्रधानमन्त्रीले क्याटलोनियालाई त्यस क्षेत्रमा केन्द्रको प्रत्यक्ष शासन लागु हुन सक्ने जनाउ दिएका हुन्।

प्रधानमन्त्रीको कदम देशको संविधान अनुसार क्याटलोनियाको स्वायत्तता निलम्वित गर्ने प्रारम्भिक प्रावधानमा पर्दछ।

स्पेनमा गत अक्टोबर एक तारिखमा क्याटलोनियामा भएको स्वतन्त्रता सम्बन्धी विवादास्पद जनमत संग्रहयता नै संकटको अवस्था छ।

तस्वीर कपीराइट AFP/GETTY IMAGES

उक्त जनमत संग्रहलाई देशको संवैधानिक अदालतले अवैध भनेको थियो।

जोखिम

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री राखोईले देशको चालिस वर्षे प्रजातन्त्रले हालसम्म कै सबैभन्दा गम्भीर जोखिमको सामना गरिरहेका बताए।

उनले सांसदहरुलाई भने, देशमा संवैधानिक सामान्यता पुनर्स्थापना गर्ने जिम्मा अब क्याटलान नेताहरुको हो।

विपक्षी सोसलिष्टहरुका नेता पेड्रो साञ्चेजको भनाई भने केहि मेलमिलापपूर्ण रहेको छ।

उनले पत्रकारहरुसंग कुरा गर्दै उनको पार्टी र सरकारबीच वर्तमान संकटको अन्त्य गर्न संविधानमा सुधार गर्न सकिने सम्भावनाहरु खोज्ने सहमति भएको बताएका छन्।