गठबन्धन शक्ति बाँडफाँटमा ढिलाइ

  • 12 अक्टोबर 2017
नेताहरु तस्वीर कपीराइट PM SECRETARIAT
Image caption चुनाव केन्द्रित काम पुरा भएपछि गठबन्धन केन्द्रित हुने नेताहरुले बताएका छन्

राजनीतिक वृत्तमा नाटकीय रुपमा विकसित भएको लोकतान्त्रिक गठबन्धन छिनोफानो र वाम गठबन्धनबीच शक्ति बाँडफाँटको टुङ्गो लाग्न केहीदिन लाग्ने दुबै पक्षका नेताहरुले जनाएका छन्।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्न दिएको समयसीमा २९ गतेसम्म तोकिएकाले दलहरु बुधवार दिनभर आन्तरिक गृहकार्यमा व्यस्त देखिए।

त्यसले गर्दा आफूहरुले गर्ने भनेको चुनाव लक्षित गठबन्धन निर्माण केही प्रभावित भएको नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले बताए।

बुधबार गठन भएको संसदीय बोर्डले समानुपातिकको सूची टुङ्गो लगाए लगत्तै गठबन्धनलाई आकार दिइने उनले बताए।

अनिर्णित

उनले भने, ''अहिले बैठक नियमित हुन सकेको छैन। यही २९ गतेसम्म समानुपातिक सूची बुझाउनुपर्ने हुनाले संसदीय बोर्डले अब त्यसमा काम गरिरहन्छ। अरु दलहरुसँग प्रत्यक्षको सिट बाँडफाटको समझदारी कहाँ कसरी गर्ने भन्नेबारेमा कार्यदलले नै अब टुङ्गो लगाउँछ।''

कांग्रेसको आन्तरिक व्यस्तताले गर्दा उसँग गठबन्धनको गृहकार्यमा रहेका तराई केन्द्रित दल पनि अनिर्णित अवस्थामा छन्।

संघीय समाजवादी फोरमका नेता राम सहाय यादवले कांग्रेसकै कारण द्वीपक्षीय कार्यदलको काम प्रभावित भएको बताए।

उनले भने, ''उहाँहरु अहिले समानुपातिक तर्फको सूची तयारीमा ब्यस्त हुनुहुन्छ। त्यस कारणले हाम्रो कार्यदलको बीचमा छलफल शुरु भएकै छैन। जुन प्रस्ताव हामीले कार्यदलका सामु प्रस्तुत गर्यौं र अब कार्यदलका सदस्यहरुले शिर्ष तहमा छलफल गरेर अनिमात्र हाम्रो बैठक अगाडि बढ्छ।''

प्रतिक्षा

बामपन्थी गठबन्धनको हालत पनि उस्तै छ। उसको कार्यदल आफ्नो तहमा देखिएका मतभेदबारे शीर्षस्थ नेताको अन्तिम रायको प्रतिक्षामा छ।

कार्यदलमा रहेका एमाले नेता सुरेन्द्र पाण्डेले पनि आन्तरिक व्यस्तता ढिलाईको कारण बनेको बताए।

उनले भने, ''प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीहरुबीच जुन मोर्चाबन्दी छ, त्यो मोर्चाबन्दीको सिलसिलामा निर्वाचन क्षेत्र बाँडफाँटको अवस्था छ। हाल त्यो भन्दा अगाडि बढ्न सक्ने पार्टीहरुको अवस्था नै छैन।''

पार्टीको आन्तरिक शक्ति सन्तुलन मिलाउँदै समानुपातिक सूची बनाउनु परेकाले समय लागिरहेको नेताहरुको भनाइ छ।

त्यसकारण लोकतान्त्रिक गठबन्धन गठन र वामपन्थी गठबन्धनभित्र सिट बाँडफाँटमा केही दिन लाग्ने दुबै पक्षले स्वीकार गरेका छन्।