‘आरुषि-हेमराज हत्याकाण्ड: आमाबुवा निर्दोष’

  • 12 अक्टोबर 2017
आरुषिका आमाबुवा तस्वीर कपीराइट PTI
Image caption आरुषिका आमाबुवा सन् २०१३ देखि जेलमा थिए

भारतमा आरुषि हत्याकाण्ड भनेर चर्चित घटनामा आरुषिका आमाबुवालाई त्यहाँको एउटा उच्च अदालतले निर्दोष ठहर्याएको छ।

१४ वर्षिया आरुषि तलवार र उनको घरमा काम गर्ने नेपाली हेमराज बन्जाडेको हत्या सन् २००८ मा भएको थियो।

धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा आरुषि आफ्नै कोठमा भेटिएकी थिइन्।

त्यसको एक दिनपछि हेमराजको शव आरुषिको छिमेकीको घरको छतमा भेटिएको थियो।

Image caption हेमराजका छोरीको विहे भइसकेको छ भने छोरा पढ्दै छन्

शंकाको लाभ

इलाहाबाद उच्च अदालतले उक्त आदेश दिएको मुद्दा हेरिरहेका एकजना वकिल एके निगमले बीबीसी हिन्दीलाई बताएका छन्।

इलाहाबादस्थित एकजना पत्रकार समीरात्मज मिश्रका अनुसार उच्च अदालतले तलवार दम्पतीले 'शंकाको लाभ पाउनु पर्ने' ठहर गरेको हो।

आरुषिको हत्यापछि उत्तर प्रदेश प्रहरीले पहिले बाबु राजेश र पछि हेमराजमाथि शंका गरेको थियो।

आरुषिको हत्या गरेर हेमराज भागेको आशंका गरिएको थियो।

अस्वीकार

Image caption हेमराजकी पत्नी खुमकलाले आफू सन्तानको निम्ति बाँचिरहेको बीबीसीलाई बताएकी थिइन्

तर भोलिपल्ट उनको पनि शव भेटिएपछि प्रहरीले बाबुलाई हिरासतमा लिएको थियो।

सन् २०१३ मा उनीहरुलाई एउटा अनुसन्धान निकाय सीबीआईको विशेष अदालतले जन्म कैदको सजाय सुनाएको थियो।

त्यसयता उनीहरुले गाजियाबादको एउटा जेलमा कैदी जीवन बिताइरहेका थिए।

Image caption अर्घाखाँचीस्थित हेमराजको घर

उनीहरुले सीबीआईले लगाएका आरोपहरु अस्वीकार गर्दै आएका थिए।

त्यसपछि पत्रकार अविरुक सेनले 'आरुषि' नामको एउटा किताब लेखे जसमा सीबीआईको जाँच प्रक्रियामाथि प्रश्न उठाइएको थियो।

हेमराज बन्जाडे अर्घाखाँचीको धारापानीका बासिन्दा हुन्।

उनकी पत्नी खुमकलाले बीबीसीसँग कुरा गर्दै राहत र क्षतिपूर्ति पाउनु पर्ने बताएकी थिइन्।