'तोकिएकै समयमा चुनाव हुन्छ'

  • 12 अक्टोबर 2017
तस्वीर कपीराइट PMO
Image caption चुनाव नज‌िकिंदै जाँदा तीन पार्टीका शीर्ष नेताहरुबीच भेट भएको थियो

प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनको कार्यतालिका कुनै फेरबदल नहुने र तोकिएकै समयमा निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै त्यसमा शंका नगर्न नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा बिहीबार बसेको प्रमुख तीनदलको बैठकमा प्रधानमन्त्री देउवाले त्यस्तो बताएका थिए।

तर उक्त बैठक राष्ट्रियसभा निर्वाचन विधेयकमा दलहरु बीच सहमति जुटाउन भने विफल भएको छ।

बैठक

प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फका उम्मेदवारहरुको सूची बुझाउने दिन नजिकिंदै गएका बेला प्रमुख तीन दलका शीर्ष नेताहरुबीच बैठक भएको थियो।

निर्वाचनका लागि गठबन्धन गरेका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा सत्तारुढ दल माओवादी केन्द्रका नेताहरुको चुनाव सार्न लागिएको हो कि भन्ने आशंकाबारे बैठक केन्द्रित भएको बताइएको छ।

बैठकमा निर्वाचनका बारेमा देखिएका आशंकाबारे प्रष्ट पार्न विपक्षी दलका नेताहरुले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द परियारले भने "उहाँहरुको केही आशंका देखिएको थियो, तर प्रधानमन्त्रीले निर्वाचनको कार्यतालिका पनि हेरफेर नगर्ने गरि चुनाव हुन्छ भनेर विश्वस्त पार्नु भएको छ।"

पछिल्लो राजनीतिक ध्रुवीकरण पछि पहिलो पटक एकसाथ बसेका तीनै पार्टीका शीर्ष नेताहरुको छलफलमा सबै दलका नेताहरु आउँदो मंसिर महिनामा तोकिएकै मितिमा निर्वाचन गर्न सहमत भएको र प्रधानमन्त्रीको भनाइ पछि सबै दल विश्वस्त भएको बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए।

वातावरण

उनले भने, "प्रधानमन्त्रीले कुनै पनि हालतमा चुनाव सर्दैन, निर्धारित समयमा हुन्छ। यो कुरामा ढुक्क हुन सबैलाई अनुरोध गर्छु भने पछि फेरि चुनावको सुनिश्चितताको वातावरण बनेको छ।"

बिहीबारको बैठकमा एमाले नेता माधव कुमार नेपालले प्रधानमन्त्री समक्ष समानुपातिक उम्मेदवारको सूची तयार पार्न भैरहेका तयारी र त्यसको मिति फेरबदल गर्न सकिने सम्भावनाका बारेमा जिज्ञासा राखेको बताइएको छ।

बैठकको अर्को एजेन्डाको रुपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचन विधेयकमा भने काँग्रेस र एमाले आफ्नै अडानमा कायम रहे पछि सहमति जुटन नसकेको माओवादी केन्द्रका नेता श्रेष्ठले बताए।

उनले भने, "प्रधानमन्त्रीले एकल संक्रमणीयमा जाउँ भन्नु भएको छ, हामीले त्यसमा जाँदा पनि हुन्छ भनेका छौं। तर एमालेले बहुमतीय नै गर्नु पर्ने भने पछि शुक्रबार तीन जना शीर्ष नेताहरु बसेर सहमति गर्ने भन्ने भएको छ।"

संसदमा प्रमुख दलहरुको फरक अडानका कारण अगाडि बढन नसकेको चिकित्सा शिक्षा विधेयकका बारेमा भने प्रमुख दलहरुको बैठकमा छलफल नभएको बताइएको छ।