रुपान्तरित संसद्को अन्तिम बैठक बस्दै

  • 13 अक्टोबर 2017
संसद्

नयाँ संविधान जारी गरेपछि संविधानसभाबाट व्यवस्थापिका संसद्‍मा रुपान्तरित संसद्को अन्तिम बैठक आज बस्ने सभामुखले बताएकी छन्।

यसको कार्यकाल माघ ७ गतेसम्म रहने भएपनि संविधानको संक्रमणकालीन व्यवस्थामा प्रतिनिधसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्रै व्यवस्थापिका संसद् कायम रहने उल्लेख छ।

अन्तिम दिन महत्त्वपूर्ण ठानिएका राष्ट्रियसभा निर्वाचन र चिकित्सा शिक्षा विधेयकको टुङ्गो लगाउन प्रमुख दलबीच सहमतिको प्रयास पनि हुँदैछ।

अन्तिम बैठकसँगै संविधानसभाबाट २४ महिनाअघि रुपान्तरित संसद्को अन्त्य पनि हुँदैछ।

प्रावधान

निर्वाचन आयोगले आइतबारसम्म समानुपातिकतर्फको उम्मेद्वारी दर्ता गर्ने म्याद दिएको छ।

सूची बुझाउने अन्तिम म्यादको अघिल्लो दिन शनिवार परेकोले शुक्रबार नै अन्तिम बैठक हुन लागेको सभामुख ओनसरी घर्तीले बताइन्।

उनले भनिन्, "संविधानले यी दुई प्रावधनलाई उल्लेख गरेको छैन, त्यसैले मेरो बुझाईमा समानुपातिक होस् या प्रत्यक्ष यसको मनोनयन दर्ता गर्ने अघिल्लो दिन हामी स्वतः समाप्त हुन्छ।"

संसद् सचिवालयका अनुसार हालको रुपान्तरित संसद्‍मा दर्ता भएका धेरैजसो विधेयक पारित भइसकेका छन्।

कार्यान्वयन

तर संसद्ले संविधान कार्यान्वयन गर्न चाहिने महत्त्वपूर्णमध्ये एक राष्ट्रियसभा निर्वाचन कानून पारित गर्न बाँकी छ।

पारित भएका र संसद्‍मा दर्ता भएका विधेयकबारे संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले भने, "यो अवधिमा हामीले ८० भन्दा बढी विधेयक पारित गरेका छौँ। शुक्रबार हाम्रो सूचीमा राष्ट्रियसभा निर्वचानसम्बन्धी विधेयक र प्रदेश प्रमुखहरुको पारिश्रमिकसम्बन्धी विधेयक परेका छन्।"

संविधान जारी भएपछि संसद्ले ३ वर्षभित्र करिब १५० वटा कानून बनाउनुपर्ने छ।

दुई वर्षे कार्यकाल रहेको रुपान्तरिक संसद्ले संविधान कार्यान्वयन गर्न अत्यावश्यक कानून बनाउनै प्राथमिकता दिएको र बाँकी कानून आगामी संसद्को जिम्मामा सर्नेछ।

तर राजनीतिक असमझदारी उत्पन्न भएको राष्ट्रियसभाको निर्वाचनसम्बन्धी विधेयकको छिनोफानो प्रमुख दलले शुक्रवार नै लगाउने बताइएको छ।