ट्रम्पः इरान सम्झौताबाट हात झिक्न सक्ने

  • 13 अक्टोबर 2017
इरान तस्वीर कपीराइट Getty Images

राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताप्रतिको अमेरिकी समर्थन फिर्ता लिंदै शुक्रवार थप विवादास्पद रणनीति घोषणा गर्नसक्ने अपेक्षा गरिएको छ।

ट्रम्पको घोषणाले इरानसँगको सम्झौताबाटै अमेरिका बाहिरिने त छैन तर इरानमाथि फेरि प्रतिबन्ध लगाउने वा नलगाउने विषयमा निर्णय गर्न अमेरिकी कंग्रेसले ६० दिनको समय पाउनेछ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ट्रम्पले वक्तव्य दिनुअघि आफ्ना युरोपेली र चिनियाँ समकक्षीहरुसँग परामर्श गरिरहेको बताएका छन्।

विदेश मन्त्रालयकी एकजना प्रवक्ताले भनेकी छन्, टिलर्सनले परामर्श गरिरहेका छन् र उनीहरुका कुरा सुनिरहेका छन्।

स्थगित

वाशिङटनका साझेदारहरुमा के चिन्ता छ भने आफ्नो सम्बोधनमा ट्रम्पले इरानसँगको सम्झौतालाई आफूले अनुमोदन नगर्ने भन्न सक्छन्।

इरानसँगको पारमाणविक सम्झौता खारेज गर्न ट्रम्पलाई देशभित्र र बाहिरबाट व्यापक दबाब रहेको बताइन्छ।

सन् २०१५ मा शक्ति राष्ट्रहरुसँग भएको पारमाणविक सम्झौता अनुसार आफूमाथिको प्रतिबन्ध आंशिक रुपमा हटाइएको बदलामा इरानले आफ्ना पारमाणिक कार्यक्रमहरु स्थगित गरेको थियो।

तस्वीर कपीराइट Reuters

इरानको आलोचक रहँदै आएका ट्रम्पले चुनावी अभियानका क्रममा उससँगको सम्झौता खारेज गर्ने प्रतिबद्धता जनाएका थिए।

राष्ट्रपति ट्रम्पले इरानसँगको पारमाणविक सम्झौतालाई 'अहिलेसम्मकै नराम्रो' भन्दै आएका छन्।

इरानसँगको पारमाणविक सम्झौतापछि अमेरिकाले तेहरानविरुद्धका केही प्रतिबन्धहरु फुकुवा गरेको थियो।