इराक-इरान भूकम्प: उद्धार प्रयास तीव्र

  • 13 नोभेम्बर 2017
भत्किएको एक भवन तस्वीर कपीराइट REUTERS/TASNIM NEWS AGENCY

इरान र इराकको सीमाक्षेत्रको पर्वतीय क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि त्यहाँका प्रभावित क्षेत्रमा उद्धार प्रयासलाई तीव्र पारिएका विवरण प्राप्त भएका छन्।

भूकम्पपछि त्यस क्षेत्रमा करिब चार सय जनाको ज्यान गएको र चार हजारभन्दा बढी मानिस घाइते भएको जनाइएको छ।

अधिकांश भूकम्प पीडितहरु इरानको सीमापट्टी रहेको बताइएको छ।

७.३ परिमाणको भूकम्पले इरानको केर्मान्शाह प्रान्तमा ठूलो क्षति पुर्‍याएको छ।

खोजी

त्यहाँ उद्धारकर्ताहरुले भत्किएका भवनहरुमा जीवितै रहेका हुनसक्ने मानिसहरुको खोजी गरिरहेका छन्।

भूकम्पपछि खसेका पहिरोले सडकहरु सम्पर्क विच्छेद हुन पुगेका छन् जसका कारण उद्धार कार्य प्रभावित भएको छ।

भूकम्प प्रभावित क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको र दशौं हजार पीडितलाई आपत्कालिन वासको अभाव भइरहेको छ।

इराकपट्टि चाहिँ कम्तीमा नौ जनाको मृत्यु भएको खबर छ।

कुर्दिस्तान क्षेत्रको दर्बान्दीखान नगरमा सबैभन्दा धेरै क्षति भएको जनाइएको छ।

कुर्द स्वास्थ्य मन्त्री रेकावत हमा रशीदले त्यहाँको स्थिति एकदमै दयनीय भएको बताए।

'भूइँचालो'

बगदादवासी मजिदा अमिरले रोएटर्स समाचार संस्थालाई भनिन्, "म बच्चाहरु सहित रातीको खाना खाँदै थिए, हाम्रो घर त हावामा नाचे जस्तै भयो।"

"मैले शुरुमा कुनै बम पड्किएको होला भन्ने ठानें, तर सबै मानिसहरुले 'भूइँचालो' भनेर कराइरहेका थिए।"

कुर्दहरुको बसोबास रहेको भूकम्प प्रभावित क्षेत्रका अधिकांश घरहरु माटोको इँटाले बनाइएका छन्।

तस्वीर कपीराइट EPA

त्यहाँको सार्पोल-ए-जाहब नगरमा कैयौं अग्ला घरका गाराहरु ढलेका छन् जसका कारण थुप्रै मानिस खुल्ला आकाशमुनि रात बिताउन वाध्य छन्।

राष्ट्रसंघका अनुसार केन्द्रबिन्दुको १०० किलोमिटर भित्रको क्षेत्रमा करिब १८ लाख मानिस बसोबास गर्दछन्।

क्षति

पृथ्वीको २३ किलोमिटरको गहिराइमा गएको भूकम्पको धक्का टर्की, इजरेल र कुवेत सम्म महसुस गरिएका विवरण आएका छन्।

सन् २००३ मा ६.६ म्याग्निच्युड्को भूकम्पले इरानको ऐतिहासिक बाम नगरमा ठूलो क्षति पुर्‍याएको थियो र २६ हजार मानिसको ज्यान गएको थियो।

भूकम्पको उच्च जोखिममा रहेको इरान अरबी र युरेसियाली प्लेट जोडिने स्थानमा अवस्थित छ।

ती प्लेटहरुको घर्षणका कारण त्यस क्षेत्रमा जाग्रोस पर्वतमाला बनेको छ।