जिम्बाब्वेः सत्ता हातमा नलिएको सेनाको दाबी

  • 15 नोभेम्बर 2017
जिम्बाब्वे तस्वीर कपीराइट Getty Images

जिम्बाब्वेमा सेनाले सरकारी टेलिभिजनलाई कब्जामा लिंदै देशमा 'सामाजिक एवं आर्थिक समस्याका लागि जिम्मेवार' राष्ट्रपति रोबर्ट मुगाबेका निकटवर्तीहरुलाई नियन्त्रणमा लिने योजना सार्वजनिक गरेको छ।

सैनिक पोशाकमा देखिएका एकजना जर्नेलले टेलिभिजनमार्फत एउटा विज्ञप्ति वाचन गर्दै सेनाले सत्ता हातमा नलिएको उल्लेख गरे।

सेनाले 'कू' अर्थात् सत्तापलट गरेको जस्तो देखिने घटनाक्रममा राजधानी हरारेमा गोली चलेको र विस्फोटका आवाज सुनिएका थिए।

ती सैनिक अधिकारीले राष्ट्रपति मुगाबे तथा उनको परिवार सकुशल रहेको र उनीहरुको सुरक्षा सुनिश्चित गरिएको जनाएका छन्।

अपुष्ट

अपुष्ट खबरहरुमा सरकारका कम्तीमा एकजना मन्त्री र प्रहरी प्रमुखलाई पक्राउ गरिएको जनाइएको छ।

संसद् र सरकारी भवनहरु नजिक बख्तरबन्द गाडीहरु तैनाथ गरिएका छन्।

९३ वर्षीय राष्ट्रपति मुगाबे वा उनका प्रतिनिधिले कुनै प्रतिक्रिया दिएका छैनन्।

तस्वीर कपीराइट AFP

यसअघि मंगलबार सत्तारुढ दलले जिम्बाब्वेका सेना प्रमुखले विद्रोहलाई बढावा दिइरहेको आरोप लगाएको थियो।

जिम्बाब्वेको प्रसारक सेनाको ‘नियन्त्रण’मा

सेना प्रमुख जेनरल कन्सट्यान्टिनो चिवेङाले राष्ट्रपति रोबर्ट मुगाबेले उपराष्ट्रपतिलाई बर्खास्त गरेपछि सम्भावित सैनिक हस्तक्षेपको चेतावनी दिएका थिए।

उनले मुगाबेको जानु पिएफ पार्टीभित्र भइरहेका विपक्षीलाई सफाया गर्ने निर्णयहरु रोक्न कदम चाल्न सेना तयार रहेको जनाएका थिए।

राष्ट्रिय प्रसारक जेडबीसीमा प्रवेश गर्दा सैनिकहरुले त्यहाँ कार्यरत केही कर्मचारीमाथि दुर्व्यवहार गरेको स्रोतहरुले रोर्यटर्स समाचार संस्थालाई बताएका छन्।

अन्योल

कर्मचारीहरुलाई चिन्ता नलिन भनिएको थियो र सैनिकहरु सुरक्षा दिन मात्रै खटिएको बताइएको थियो।

पछिल्ला घटनाक्रमपछि अमेरिका र ब्रिटेनले हरारेको अवस्था स्पष्ट नहुञ्जेल जिम्बाबेमा रहेका आफ्ना नागरिकलाई घर बाहिर ननिस्कन भनेका छन्।

तस्वीर कपीराइट AFP

अमेरिकी दूतावासले जिम्बाब्वेमा राजनीतिक अन्योल रहेको भन्दै आफ्ना कर्मचारीलाई घरभित्रै बस्न भनेको छ।

उत्तराधिकारी चयनसम्बन्धी विवादका माझ अघिल्लो हप्ता राष्ट्रपति मुगाबेले उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई बर्खास्त गरेका थिए।

मनाङग्याग्वालाई भावी राष्ट्रपतिका रुपमा विगतमा हेरिएको थियो।

तर सो घटनाक्रमपछि प्रथम महिला ग्रेस मुगाबे उक्त पदका लागि प्रमुख दावेदार बनेकी छन्।