'आरोहण विवादबारेको निर्णयको सम्मान गर्छौं'

  • 30 नोभेम्बर 2017
तस्वीर कपीराइट STR/AFP/GETTY IMAGES

नेपाल पर्वतारोहण संघले सबैभन्दा छोटो समयमा सगरमाथा आरोहणबारे दुई पर्वतारोहीबीचको विवादको छिनोफानो गर्ने सर्वोच्च अदालतको निर्णयको सम्मान गर्ने बताएको छ।

आरोही पेम्बादोर्जी शेर्पाले सन् २००४ मा ८ घन्टा १० मिनेटमा सगरमाथा चढेको प्रमाणित नहुने भन्दै अर्का आरोही लाक्पागेलु शेर्पाले दायर गरेको निवेदनलाई सर्वोच्च अदालतले यसै साता सदर गरेको हो।

लाक्पागेलु शेर्पाले चाहिँ त्यसको एक वर्षअघि सन् २००३ मा आफूले १० घन्टा ५६ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको भन्दै प्रमाणहरु पेश गरेका थिए।

सन् २००४ को मे महिनामा ८ घन्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर अर्का आरोही लाक्पागेलु शेर्पाको कीर्तिमान भंग गरेको बताउँदै आएका पेम्बा दोर्जीलाई सर्वोच्च अदालताको पछिल्लो निर्णयले अप्ठ्यारोमा पारिदिएको छ।

कीर्तिमान

सो निर्णयपछि सबैभन्दा छोटो समयमा सगरमाथा आरोहणको कीर्तिमान अब सन् २००३ को मे महिनामा १० घन्टा ५६ मिनेटमा सगरमाथा आरोहण गरेको प्रमाण जुटाउँदै आएका लाक्पागेलुको पोल्टामा पर्ने देखिन्छ।

दुवै आरोहीसँग सम्पर्क गर्ने बीबीसीको प्रयास सफल हुन सकेन।

नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामाले अदालतको निर्णयको संघले सम्मान गर्ने बताए।

उनले भने, "न्यायालयले प्रमाणहरुको आधारमा निर्णय गर्दछ। हामीले सर्वोच्च न्यायालयको निर्णयको सम्मान गर्छौं।"

लामाले छोटो समयमा सगरमाथा आरोहणबारे नेपाली आरोहीबीच लामो समयसम्म चलेको यस्ता विवादले देशको छविमै असर पर्न सक्ने भन्दै यस्ता विवादबाट नेपाली आरोहीहरु टाढै रहनु पर्नेमा जोड दिए।

समय

सगरमाथा आरोहण गर्न कति समय लाग्छ?

जानकारहरु भन्छन् आधार शिविरबाट सगरमाथाको शिखर पुग्न सामान्य आरोहीहरुलाई तीनदेखि चार दिन लाग्ने गर्दछ।

तर सन् २००३ र २००४ मा दुई नेपाली आरोहीहरु, लाक्पागेलु शेर्पा र पेम्बादोर्जे शेर्पाबीच 'को छिटो चढ्ने' भन्ने प्रतिस्पर्धा नै चलेको थियो।

त्यहि बेलादेखि चर्किएको विवादलाई सर्वोच्च अदालतले यो साता टुंग्याएको हो।

पर्यटन मन्त्रालयको तर्फबाट सन् २००७ देखि लगातार सगरमाथा आधार शिविरमा सम्पर्क अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका सगरमाथा आरोही ज्ञानेन्द्र श्रेष्ठका अनुसार कीर्तिमान राख्न चाहने आरोहीले त्यसबारे सम्पर्क अधिकृतलाई जानकारी दिंदै साक्षी समेत जुटाउनु पर्दछ।

उनले भने, "त्यसरी चढ्ने आरोहीले आधार शिविरमा लिखित जानकारी दिएर माथि गएर साक्षी जुटाउनु पर्छ।"

सगरमाथा क्षेत्रमा नेपाल सरकारले आफ्ना प्रतिनिधि खटाउने क्रम शुरु हुनु अघिको कालखण्डमा चाहिं आरोहीहरुले आफूले शिखरमा खिचेका तस्वीरहरुलाई प्रमाण बनाएर आफ्ना कीर्तिमानबारे जानकारी दिने गरेको जानकारहरु बताउँछन्।

सम्बन्धित सामग्री