कर कटौती विधेयक सिनेटबाट पारित

  • 2 डिसेम्बर 2017
अमेरिकी सिनेट तस्वीर कपीराइट AFP
Image caption सिनेटका रिपब्लिकन नेता मिच म्याककोनलले पछिल्लो कानूनले अमेरिकालाई थप प्रतिस्पर्धी बनाउने र रोजगारीका अवसर बाहिर जानबाट रोक्ने बताएका छन्

अमेरिकी सिनेटरहरुले व्यापक कर कटौतीसम्बन्धी विधेयक अनुमोदन गरेका छन्।

राष्ट्रपति बनेयता डोनल्ड ट्रम्पका लागि यो पहिलो ठूलो विधायिकी जित हो।

कम्पनीहरु तथा केही व्यक्तिमाथि लाग्दै आएको कर कटौती गर्ने परिकल्पना विधेयकले गरेको छ।

फेरबदल

पछिल्लो कदमलाई सन् १९८०को दशकयताकै सबैभन्दा ठूलो करसम्बन्धी फेरबदल भनिएको छ।

एउटा लामो सत्रमा श्रृंखलावद्ध संशोधनपछि उक्त विधेयक माथिल्लो सदन सिनेटबाट पारित भएको हो।

पक्षमा ५१ र विपक्षमा ४९ मत परेको थियो।

डेमोक्रयाटहरुले पछिल्लो परिवर्तनले केवल धनी व्यवसायी र तिनको ठूला व्यवसायलाई फाइदा पुर्याउने तर्क गर्दै आएका छन्।

नयाँ योजना अनुसार, कम्पनीहरुले तिर्नुपर्ने करमा व्यापक कटौती हुनेछ।

सिनेटको एउटा समितिको अध्ययनमा पछिल्लो कदमले बजेट घाटामा १० खर्ब डलर थप गर्ने चेतावनी दिइएको थियो।

तस्वीर कपीराइट Getty Images
Image caption पछिल्लो विधेयक राष्ट्रपति ट्रम्पका लागि ठूलो विधायिकी जित मानिएको छ

चाहना

राष्ट्रपति ट्रम्प यो वर्षको अन्त्यसम्ममा नयाँ व्यवस्था लागू गर्न चाहन्छन्।

उनले रिपब्लिकनहरुलाई धन्यवाद दिंदै 'काम गरेर जीवनयापन गर्ने परिवारका लागि व्यापक कर कटौती गर्ने दिशामा एक कदम नजिक पुगेको' टिप्पणी गरे।

अब सिनेटले पछिल्लो कानूनलाई तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले गत महिना पारित गरेको कानूनसँग एकीकृत गर्नुपर्नेछ।

त्यसपछि त्यसमा राष्ट्रपतिले हस्ताक्षर गर्नेछन्।

पछिल्लो कदमलाई ट्रम्पका लागि प्रमुख विधायिकी जितका रुपमा अर्थ्याइएको छ।

नयाँ ऐन अनुसार कम्पनीहरुसँग सम्बन्धित कर ३५ प्रतिशतबाट २० प्रतिशतमा झारिएको छ।

अमेरिकालाई आधार बनाएका कम्पनीको भावी मुनाफामध्ये अधिकांश हिस्सा करबाट मुक्त हुनेछ।