‘निर्वाचन सुरक्षा कमजोर’

  • 4 डिसेम्बर 2017
सुरक्षा व्यवस्था

राजधानीमै उम्मेदवार लक्षित आक्रमण भएपछि राष्ट्रिय मानवअधिकार आयोगले 'निर्वाचन सुरक्षा व्यवस्था कमजोर देखिएको' भन्दै भयरहित रुपमा मतदान गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ।

सुरक्षा निकायहरुले त्यस्ता हमला रोक्ने प्रयासमा थप जनशक्ति परिचालन गर्ने तथा गोप्य सूचना संकलनलाई तीव्र बनाउने जनाएका छन्।

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुन तीन दिन बाँकी रहँदा काठमाण्डूमा कांग्रेस उम्मेदवार गगन थापाको चुनावी अभियानका क्रममा बम विस्फोट भएको थियो।

असन्तुष्टि

राजधानीका कतिपय स्थानमा विस्फोटका घटना भएपनि उदयपुरमा जस्तै उम्मेदवार र चुनावी अभियानमा संलग्नहरुनै घाइते हुने गरी काठमाण्डूमै पहिलोपटक विस्फोट भएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार ट्वीट गर्दै यस्ता घटनामा संलग्नहरुमाथि कडा कारवाही गरिने बताएक।

राष्ट्रिय मानवअधिकार आयोगले पनि चुनावी सुरक्षाप्रति गहिरो असन्तुष्टि झल्कने गरी सोमबार एक वक्तव्यमार्फत भयरहित मतदानको वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ।

उसले चुनावी सुरक्षा व्यवस्था कमजोर रहेको टिप्पणी गरेको छ जुन धारणा कतिपय सुरक्षा विश्लेषकमा पनि पाइन्छ जो बढ्दो सुरक्षाखर्चबीच पनि प्रभावकारी परिणाम नआएको निष्कर्ष सुनाउँछन।

तर सुरक्षा अधिकारीहरुले चाहिं उम्मेदवार लक्षित सुरक्षा प्रबन्धमा समीक्षा गर्दै थप सुदृढ बनाइने बताए।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले भने, "विशिष्ट व्यक्तिहरुको सुरक्षाको पर्याप्त व्यवस्था नभएको भन्ने होइन। तर अब थप जनशक्ति परिचालन गर्ने, सूचना संकलन मजबुत बनाउने र उम्मेदवारहरुको आउजाउबारे बढी निगरानी गर्नेछौं"।

विस्फोट

सोमबार काठमाण्डू क्षेत्र नम्बर ४ का कांग्रेसका उम्मेदवार गगन थापाले घरदैलो कार्यक्रम गरिरहेका बेला विस्फोट हुँदा उनीसहित ११ जना घाइते भएको प्रहरीले बताएको छ।

थापासहित केही सामान्य उपचारपछि घर फर्किएका छन् भने अन्य दुई जना गम्भीर घाइतेको उपचार भइरहेको बताइएको छ।

विस्फोटको प्रकृतिबारे एआइजी चन्दले भने, "प्रेसर कुकुरमा राखेको बम रिमोट कन्ट्रोलबाट पड्काएजस्तो देखिन्छ।"

पछिल्लो घटनाको अनुसन्धानको क्रममा ४० जनाजतिलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

अनुभव

राजधानीमै उम्मेदवार लक्षित विस्फोट भएपछि सुरक्षा निकायलाई पनि त्यसले चिन्तित तुल्याएजस्तो देखिन्छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालले भने, "बम निस्क्रिय पार्ने टोली तथा गस्ती टोलीको संख्या अब बढाउँछौं। उम्मेदवारका कार्यक्रममा पनि निगरानी बढाउँछौं।"

पछिल्लो विस्फोटमा को संलग्न थियो भन्नेबारे प्रष्ट भइसकेको छैन।

तर विगतका यस्तै प्रकृतिका घटनामा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टीका कार्यकर्ता संलग्न रहेको नेपाल प्रहरीका अधिकारीहरुले बताएका थिए।