‘बिहान १० बजेसम्म २० प्रतिशत मतदान’

  • 7 डिसेम्बर 2017
मतदान तस्वीर कपीराइट EPA

निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि ४५ जिल्लामा भइरहेको दोस्रो चरणको मतदानमा बिहान १० बजेसम्ममा कम्तीमा २० प्रतिशत मतदान भएको जनाएको छ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि १ सय २८ निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यका लागि २ सय ५६ निर्वाचन क्षेत्रका ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

आयोगका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रुपमा मतदाताले मतदान गरिरहेका छन्।

गुल्मीको बलेटक्सार र नवलपरासी पश्चिमको सरावल गाउँपालिका-२ त्रिमूर्ति आवासीय विद्यालय मतदान केन्द्रमा बिहान केहीबेर सामान्य विवाद भई मतदान स्थगित भएकोमा अहिले मतदान भइरहेको आयोगले जनाएको छ।

सामाजिक सञ्जाल चुनावमय

बिहानैदेखि चुनावी चहलपहल

उपस्थिति

सुदूरपश्चिमका केही जिल्लामा केहीबेर छिटफुट पानी परे पनि मतदाताको उपस्थिति उत्साहजनक छ।

साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने आयोगले जनाएको छ।

तस्वीर कपीराइट AFP

प्रदेश नं. १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं. २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नं. ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाण्डू, ललितपुर र भक्तपुर, प्रदेश नं. ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङ्जा र पर्वत, प्रदेश नं. ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा मतदान भइरहेको छ।

त्यस्तै पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दिया, प्रदेश नं. ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं. ७ का कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटी जिल्लामा मतदान जारी छ।

दोस्रो चरणको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नेछन्।