कतिपय निर्वाचन क्षेत्रबाट मतपरिणाम आउन शुरु

  • 8 डिसेम्बर 2017
चुनाव

प्रदेश र प्रतिनिधि सभा चुनाव सम्पन्न भएर मतगणना शुरु भएका ठाउँहरुबाट मतपरिणाम आउन थालेका छन्।

हिमाली जिल्ला मनाङ र मुस्ताङ अनि पहाडी जिल्ला पूर्वी रुकुमको मतपरिणाम आएको त्यहाँका निर्वाचन अधिकृतहरुले बीबीसीलाई बताएका छन्।

पहिलो चरणमा चुनाव भएका ३२ जिल्ला मध्ये लगभग सबैमा मतगणनाको काम शुरु भइसकेको निर्वाचन आयोगले जनाएको छ।

मतपरिणाम

यसैबीच मनाङमा प्रतिनिधि सभातर्फ नेकपा एमालेका उम्मेदवार पाल्देन छवाङ गुरुङले २३ सय मत ल्याएर विजयी भएको त्यहाँका मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिएका छन्।

त्यस्तै गुरुङका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २ हजार २१ मत ल्याएका छन्।

मनाङमै प्रदेश सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका चिन्तबहादुर घलेले ९९८ मत ल्याएर विजयी भएको र एमालेका दोर्जे डुङ्डुल गुरुङले ८९६ मत ल्याएर दोस्रो भएको त्रिपाठीले बताए।

उता, मुस्ताङ जिल्लामा प्रतिनिधि सभा तर्फ नेकपा एमालेका प्रेमप्रसाद तुलाचन ३५ सय ४४ मत ल्याएर विजयी भएका छन्।

उनका प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३१ सय ८१ मत ल्याएको त्यहाँका प्रमुख निर्वाचन अधिकृत दिपक ढकाल छन्।

विजयी

प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ मा एमालेका इन्द्रधारा विष्ट ११ सय ३७ मत ल्याएर विजयी भएका छन्।

मुस्ताङकै प्रदेशसभा तर्फ क्षेत्र नम्बर २ मा चाहिँ स्वतन्त्र उम्मेदवारी दिएका दिपक मनाङे भनेर चाहिने राजीबबहादुर गुरुङ १४१० मत ल्याएर विजयी भएका छन्।

उता पूर्वी रुकुममा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रकी कमला रोकाले १० हजार ४३४ मत ल्याएर कांग्रेसका हरिशंकर घर्तीलाई पराजित गरेको त्यहाँका निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिएका छन्।

दुई चरणमा गरेर प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३ सय ३० वटा निर्वाचन क्षेत्रमा बिहीवार सम्पन्न भएको थियो।

स्थानीय स्तरबाट निर्वाचन अधिकृतहरुले मतपरिणामबारे जानकारी गराए पनि निर्वाचन आयोगले भने त्यसबारे आफूलाई सम्बन्धित क्षेत्रका प्रतिनिधिबाट जानकारी प्राप्त भइनसकेको जनाएको छ।