ब्रेक्जिटका विषयमा 'पर्याप्त प्रगति'

  • 8 डिसेम्बर 2017
ब्रेक्जिट वार्ता तस्वीर कपीराइट AFP

ब्रेक्जिटका विषयमा "पर्याप्त प्रगति" हासिल भएको जनाउँदै युरोपेली आयोगले अब वार्ताकारहरुले अब नयाँ चरणको छलफल शुरु गर्न सक्ने बताएको छ।

तर ती वार्ता निकै कठिन हुनसक्ने बताइएको छ।

युरोपेली आयोगका अनुसार आयरल्याण्डसँगको सीमा, ब्रेक्जिट सम्बन्ध बिच्छेद विधेयक र ईयुका नागरिकको अधिकारका विषयमा पर्याप्त प्रगतिहरु भइसकेका छन्।

अबको वार्ता संक्रमणकालका विषयमा केन्द्रित हुने बताइएको छ।

युरोपेली आयोगका अध्यक्ष जँ-क्लोड युन्करले ईयुका २७ देशका नेताहरुले अबका वार्ता अघि बढाउन अनुमति दिने विश्वास व्यक्त गरेका छन्।

'लेनदेन'

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे ले चाहिँ यो विन्दुसम्म आइपुग्नका लागि दुवै पक्षले लेनदेन गर्नु परेको बताइन्।

आयरल्याण्ड र नर्दन आयरल्याण्डको सीमाको भविष्यबारेको आफ्नो प्रस्तावका विषयमा नर्दन ल्याण्डको डिमोक्रेटिक युनियनिस्ट पार्टीसँग छलफल गरेलगत्तै उनी ब्रसल्सतर्फ उडेकी थिइन्।

मे ले ईयुसँग ब्रेक्जिट वार्तालाई अर्को चरणमा लैजाने विषयमा महत्त्वपूर्ण सहमति गरेकी छन्।

त्यसअनुसार ब्रिटेनमा बस्ने आयरल्याण्ड र ईयुका नागरिकका लागि "सीमानामा कडाई" हुने छैन र ईयु सदस्य राष्ट्रहरुमा बसोबास गर्ने ब्रिटेनका नागरिकको अधिकार सुरक्षित रहने छ।

बीबीसीले थाहा पाए अनुसार सो "सम्बन्ध विच्छेद विधेयक" ले ३५ देखि ४० अर्ब पाउण्डको खर्चको प्रस्ताव गर्नेछ।