'इजरेलप्रति राष्ट्रसंघको व्यवहार पक्षपातपूर्ण'

  • 9 डिसेम्बर 2017
निक्की

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले इजरेल र प्यालेस्टाइनबीचको शान्ति सम्भावनालाई राष्ट्रसंघले क्षति पुर्याएको आरोप लगाएकी छन्।

अमेरिकी राजदूत निक्की हेलीले राष्ट्रसंघलाई "इजरेलप्रति शत्रुता प्रकट गर्ने संसारका विभिन्न संस्थामध्ये सबभन्दा अगाडि रहेको एक संस्था" भनिन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी दूतावास जेरुसलेममा सार्ने निर्णय गरेपछि हेली राष्ट्रसंघको आप‌तकालीन बैठकलाई सम्बोधन गर्दै थिइन्।

दूतावास सार्ने निर्णयको व्यापक भर्त्सना भएको छ र वेष्ट ब्यांकमा झडपहरु निम्त्याएको छ।

तनाव

प्यालेस्टिनी लडाकुहरुले इजरेली भूभागमा रकेट प्रहार गरेपछि इजरेलले गाजा स्ट्रिप लक्षित हवाई कारबाही गरेको छ जसमा कैयौँ घाइते भएका छन्।

शुक्रवार झडप हुँदा इजरेली फौजले गाजाको भीडमा गोली हानेपछि दुईजना प्यालेस्टिनी पुरुष मारिएका थिए।

उक्त क्षेत्रकाप्रति दशकौं लामो अमेरिकी तटस्थता विपरीत ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा अमेरिकाले मान्यता दिने घोषणा गरेपछि मध्यपूर्वमा तनाव चुलिएको छ।

इजरेलले जेरुसलेमलाई सधैँ आफ्नो राजधानी भन्दै आएको छ जबकि प्यालेस्टिनीहरुले सन् १९६७ युद्धपछि इजरेलले नियन्त्रणमा लिएको पूर्वी जेरुसलेमलाई भावी प्यालेस्टिनी राज्यको राजधानीको रुपमा दावी गर्दै आएका छन्।

प्यालेस्टिनी प्रतिनिधि रियाद मन्सुरले ट्रम्पको कदमपछि अमेरिका त्यहाँको शान्ति मध्यस्थकर्ताका रुपमा हेर्न नसकिने बताए।

इजरेलका प्रतिनिधि ड्यानी ड्याननले अमेरिकालाई धन्यवाद दिँदै "इजरेलका लागि, शान्तिका लागि र विश्वका लागि कोशेढुंगा भएको" बताए।