होण्डुरसः चुनाव रद्द गर्न विपक्षीको माग

  • 10 डिसेम्बर 2017
माग तस्वीर कपीराइट AFP

होण्डुरसका विपक्षी दलहरुले गत महिना सम्पन्न राष्ट्रपतीय चुनाव रद्द गर्न औपचारिक माग गरेका छन्।

व्यापक धाँधली भएको भन्दै चुनावपछि त्यहाँ हिंसात्मक घटनाहरु भएका थिए।

निर्वाचन अधिकारीहरुमाथि वर्तमान राष्ट्रपति ख्वां ओर्नाल्डो एयरनान्डेसको पक्षमा चुनावी नतिजा पारेको आरोप लगाइएको छ।

शुरुमा उनी झिनो मत अन्तरले विजयी भएको घोषणा गरिएको थियो।

झडप

अमेरिकी राज्यहरुको संगठनले चुनावमा अनियमितता भएको बताएको छ।

हजारौं मानिसहरु प्रदर्शनमा उत्रिएका छन्।

तस्वीर कपीराइट AFP

मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरन्याशनलले झडपमा १४ जना मारिएको जनाएको छ।

आंशिक रुपमा पुनः मतगणना जारी रहेको बताइएको छ।

माग

प्रमुख विपक्षी उम्मेदवार साल्भाडोर नासरालाले अग्रता लिए पनि मत रुजु गर्ने केन्द्रमा एउटा कम्प्युटरमा समस्या आएको बताइएपछि दुई उम्मेदवारबीच मत अन्तर कम हुँदै गएको विवरण प्राप्त भएका छन्।

होण्डुरसका विपक्षी उम्मेदवार नासरालाले भने, "हामीले सामान्य माग गरिरहेका छैनौँ, के भएको हो भन्ने कुरा सारा संसारलाई थाहा छ।"

६४ वर्षीय साल्भाडोर पूर्व टेलिभिजन प्रस्तोता तथा खेलकुद पत्रकार हुन्।

४९ वर्षीय वर्तमान राष्ट्रपति एयरनान्डेस एक वकिल पनि हुन्।