सहज मतपत्र, दोब्बर खटाइले चाँडो परिणाम?

  • 10 डिसेम्बर 2017
मतगणना

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका मत परिणाम पहिलेको भन्दा चाँडो आउनुमा मतपत्र सहज हुनुका साथै मतगणनाका कर्मचारीहरुले दोब्बर समय काम गर्नु मुख्य कारण भएको निर्वाचन अधिकारीहरुले बताएका छन्।

चुनाव अगावै निर्वाचन आयोगका अधिकारीहरुले प्रत्यक्षतर्फ ४ दिनभित्र अनि समानुपातिकतर्फ ८ दिनभित्र मतपत्र गनिसक्ने बताएका थिए।

केही दिन यताको अनुभवमा निर्वाचन अधिकारीहरुले विगतभन्दा तीव्र गतिमा मत गन्न सकिरहेको ठानिएको छ।

गणना अनुभव

जिल्ला-जिल्लामा मतगणना भएका स्थलमा कर्मचारीको खटन पहिलेभन्दा गहन देखिएको संवाददाताहरुले बताएका छन्।

झापाको निर्वाचन क्षेत्र नं ३ को मतगणनाका लागि रातको समयमा खटिएका गणक लावण्यप्रसाद भट्टराई रातभर आँखा झिमिक्क गर्न नपाएको बताउँछन्।

उनीसंगै ६ जना कर्मचारीले रातभर काम गरेको बताए।

उनको अनुभवमा यसपाली गणकहरुले बढी मेहेनत गरेर मतगणना गरिरहेका छन्।

पहिला मतपत्रमा मतदाताले लगाएको छापका आधारमा मतपत्रलाई एक ठाउँमा राखेर त्यसपछि गन्दा चाँडो परिणाम आउन सकिरहेको गणक भट्टराईले बताए।

उनले भने, "गन्नलाई अहिले एकदम सजिलो छ। एउटै चुनाव चिन्ह भएका मतपत्रलाई पहिले मिलाएर राखेपछि अनि गन्न सजिलो हुँदो रहेछ। त्यसले परिणाम पनि चाँडो आएको हो।"

बढी मतदाता भएका निर्वाचन क्षेत्रहरुमा चाँडो भन्दा चाँडो मत परिणाम दिनका लागि भनेर धेरै स्थानहरुमा मतगणना गर्ने व्यवस्था गरिएको निर्वाचन अधिकृतका कार्यालयहरुले जानकारी दिएका छन्।

एकजना निर्वाचन अधिकारीका अनुसार प्रत्येक प्रदेशसभाका मतपत्र दुई/दुई स्थानमा गन्ने व्यवस्था मिलाइएको छ। त्यसै गरी प्रतिनिधिसभाको मतपत्र गन्न पनि दुई स्थानकै व्यवस्था मिलाएको बताइन्छ।

गणकहरुले पनि तोकिएको आठ घन्टा भन्दा दोब्बर समय काम गरिरहेको अधिकारीहरु बताउँछन्।

सन्तुष्टि

अहिले भइरहेको मतगणनाको गतिलाई लिएर निर्वाचन आयोगले सन्तुष्टि प्रकट गरेको छ।

ठाउँठाउँमा दलका प्रतिनिधिहरुले पनि मतगणना छिटो भएकामा सन्तोष जनाएका छन्।

निर्वाचन आयोगले तोकेकै समयमा मत परिणाम दिनुपर्ने भएकाले समयको ख्याल गरेर मतगणना गरिरहेको निर्वाचनमा खटिएका कर्मचारीहरुले बताएका छन्।