खनाल विजयी, गौतम र उपाध्याय पराजित

  • 10 डिसेम्बर 2017
झलनाथ खनाल

प्रतिनिधिसभा चुनावको पहिलो हुनेले जित्ने प्रणालीतर्फ नेकपा एमालेका झलनाथ खनाल विजयी भएका छन् भने अर्का नेता वामदेव गौतमले पराजय भोग्नु परेको छ।

इलाम-१ मा खनालले नेपाली कांग्रेसका भूपेन्द्र कट्टेललाई करिब १७ हजार मतको अन्तरले हराएका निर्वाचन आयोगले जनाएको छ।

तर बर्दिया-१ मा एमालेकै उम्मेदवार वामदेव गौतमले पराजय भोगेका छन्।

उनलाई नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले करिब ८०० मतको अन्तरले पराजित गरेका हुन्।

एमाले ५५, माओवादी केन्द्र २२, कांग्रेस ११

कपिलस्तु-१ मा नेपाली कांग्रेसका नेता तथा पूर्व राजदूत दीपकुमार उपाध्यायलाई माओवादी केन्द्रका चक्रपाणि खनालले झण्डै एक हजार मतको अन्तरले पराजित गरेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ।

कैलाली ५ बाट उठेकी प्रधानमन्त्री पत्नी आरजु देउवा पनि पराजित भएकी छन्।

उनलाई एमालेका उम्मेदवार नारदमुनि रानाले करिब ५ हजार मतको अन्तरले हराएका हुन्।

यस्तै एमालेको चुनाव चिन्ह सूर्य लिएर उठेका हृदयेश त्रिपाठीले कांग्रेसका देवकरणप्रसाद कलवारलाई ५ हजार मतको अन्तरले पराजित गरेका छन्।

त्रिपाठी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको क्षेत्र नम्बर १ बाट उठेका थिए।

निर्वाचन आयोगका अनुसार महोत्तरी-३ मा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार महन्थ ठाकुर एमालेका उम्मेदवार विजयकुमार चौधरीभन्दा ठूलो मतको अन्तरले अगाडि छन्।

परिणाम

आयोगको साँझ ६.३० बजेको विवरण अनुसार नेकपा एमालेले ५६ स्थान जितेको छ भने माओवादी केन्द्रले २२ स्थान जितेको छ।

नेपाली कांग्रेसले १२ स्थामा विजय प्राप्त गरेको छ भने राजपा नेपालले ४ स्थानमा विजय हासिल गरेको छ।

संघीय समाजवादी फोरम नेपालले पनि ४ स्थान जितेको छ।

अन्य दलका उम्मेदवारले ३ स्थानमा विजय हासिल गरेका छन्।