तेल उत्खननमा विश्व ब्यांकले लगानी नगर्ने

  • 12 डिसेम्बर 2017
प्यारिस बैठक तस्वीर कपीराइट AFP/GETTY IMAGES

विश्व ब्यांकले सन् २०१९ देखि खनिज तेल र ग्यास अन्वेषण तथा उत्खनन कार्यका लागि वित्तिय स्रोत उपलब्ध नगराउने बताएको छ।

विश्वको तापक्रम बढ्दै जाने समस्यासंग जुध्ने अन्तर्राष्ट्रिय प्रयासहरुलाई पुन: सबल तुल्याउने उद्देश्यका साथ प्यारिसमा आयोजित एक शिखर बैठकमा त्यस्तो घोषणा गरिएको हो।

विश्व ब्यांकका अध्यक्ष डा. जिम योंग किमले खनिज तेल र ग्यासको उत्खननमा रोक लगाउने घोषणा गर्दै भने "सौर्य उर्जा उत्पादन र प्रयोगको खर्च एकदम कम हुन थालेको छ, ब्याट्रीको आकार र मूल्य पनि घट्न थालेको छ, त्यसै कारणले पनि अब अन्य उपायहरुबाट पनि उर्जाको आवश्यकता पूर्ति हुन सक्ने ठानिएको हो।"

फिजी

त्यसअघि, एउटै विश्व शिखर बैठक अर्थात वान प्लानेट समिट नाम दिइएको उक्त शिर्ष बैठकको उदघाटन गर्दै फिजीका प्रधानमन्त्री फ्र्यांक बाइनीमारामाले जलवायु परिवर्तनको समस्याका सामु धनी र गरीब देशहरु एकै भएको बताएका थिए।

उनले त्यसका लागि गरिएका वित्तिय सहायताका प्रतिबद्धताहरु छिटो छिटो कार्यान्वयन हुनु पर्ने बताएका थिए।

सन् २०१५ मा भएको प्यारिस सम्झौता अनुसार विश्वको तापक्रम बढ्ने दरलाई औद्योगिक युग अघिको स्तरभन्दा दुई डिग्री सेल्सीयसमा सिमित तुल्याउने हो भने खर्बौं डलर बराबरको लगानी गरिनु पर्ने चेतावनीहरु पनि व्यक्त भएका थिए।

परिकल्पना

उक्त सम्झौताले सन् २०२० सम्ममा हरेक वर्ष एकसय अर्ब डलर रकम छुट्याएर राखिने परिकल्पना गरेको थियो।

त्यस्तो रकमको धेरैजसो अंश हानीकारक खनिज इन्धनको प्रयोग कम गर्नका लागि विकासशील देशहरूलाई सहयोग गर्नमा खर्च गर्ने योजना गरिएको थियो।

शिखर बैठकस्थल बाहिर भेला भएका अभियानकर्ताहरुले खनिज तेल, ग्यास र अन्य खनिज उत्खननमा हुने सबै खाले लगानीको अन्त्य गरिनु पर्ने माग गरेका थिए।

उक्त बैठकका लागि प्यारिसमा तीन हजार जना भन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ।