‘वार्तामा सघाउन राष्ट्रसंघ तयार’

  • 13 डिसेम्बर 2017
उत्तर कोरिया तस्वीर कपीराइट Reuters

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले उत्तर कोरियाली अधिकारीहरुले आफूसँगको कुराकानीमा कोरियाली प्रायद्वीपमा युद्ध रोक्न चाहेको बताएको जनाएका छन्।

प्योङयाङमा उत्तर कोरिया र राष्ट्रसंघको सचिवालयका उच्च अधिकारीबीच आठ वर्षयता भएको पहिलो गम्भीर राजनीतिक वार्तामा उनीहरुले यस्तो धारणा प्रकट गरेको उनको भनाई छ।

उनले उत्तर कोरियालाई वार्ता गर्न तयार भए त्यसको संकेत दिन पनि आग्रह गरेका छन्।

साथै सैनिक 'हटलाइन' जस्ता सञ्चारका संयन्त्रहरु स्थापनाको महत्वबारे पनि जोड दिएका छन्।

भ्रमण

प्योङयाङका अधिकारीहरुले कुनै प्रतिबद्धता नजनाएको तर वार्तालाई निरन्तरता दिन सहमति जनाएको बताइएको छ।

तस्वीर कपीराइट Reuters

राष्ट्रसंघका उपमहासचिव फेल्टमेनले गएको डिसेम्बर पाँचदेखि आठ तारिखसम्म उत्तर कोरियाको भ्रमण गरेका थिए।

त्यसक्रममा उनले उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो सहितका उच्च अधिकारीहरुसँग छलफल गरेका थिए।

‘उत्तर कोरियासँग निशर्त: वार्ताका लागि तयार’

संवाददाताहरुसँग कुरा गर्दै फेल्टमेनले कसरी युद्ध रोक्ने भन्नेबारे उत्तर कोरियाली अधिकारीहरुसँग १५ घण्टा वार्ता गरेको बताए।

उनले अहिलेको विश्वमा कोरियाली प्रायद्वीपको अवस्था सबैभन्दा तनावपूर्ण र खतरनाक रहेको र युद्ध रोक्नु महत्वपूर्ण रहेको भन्नेमा दुवै पक्ष सहमत भएको जानकारी दिए।

उनले उत्तर कोरिया वार्ताका लागि इच्छुक भए त्यसका लागि राष्ट्रसंघले सघाउन सक्ने पनि उल्लेख गरे।

उनले लेनदेनका आधारमा हुने सहमतिका लागि आफूले ढोका खोलिदिएको र त्यो आगामी दिनमा थप फराकिलो हुने आफ्नो अपेक्षा रहेको जानकारी दिए।