अष्ट्रियामा चरम दक्षिणपन्थी सरकारमा फर्कँदै

  • 16 डिसेम्बर 2017
जेबष्टियन तस्वीर कपीराइट EPA
Image caption सरकार बनेपछि कुर्ट्ज विश्वकै कान्छा प्रधानमन्त्री बन्नेछन्

अष्ट्रियाको कन्जरभेटिभ पिपल्स पार्टीले चरम दक्षिणपन्थी फ्रिडम पार्टीसँग गठबन्धन बनाउने सहमति गरेको छ।

अष्ट्रियामा संसदीय निर्वाचन भएको दुई महिनापछि सहमति बनेको छ।

चुनावमा पिपल्स पार्टीले जिते पनि सरकार बनाउन आवश्यक बहुमत ल्याउन सकेन।

जम्मा ३१ वर्षको उमेरमा पिपल्स पार्टीका जेबास्टियन कुर्ट्ज विश्वकै सबभन्दा कान्छा नेता बन्ने भएका छन्।

विस्तृत विवरण

यदि गठबन्धनले सरकार बनाएमा पश्चिम युरोपमा चरम दक्षिणपन्थी पार्टी सरकारमा भएको अष्ट्रिया एक्लो मुलुक बन्नेछ।

पिपल्स पार्टीका जेबाष्टियन कुर्ट्ज र फ्रिडम पार्टीका हाइन्ज क्रिष्टियन स्ट्र्याखबीच सहमति बनेको हो।

सहमति गरे पनि दुई नेताले सरकारका कार्यक्रमबारे विस्तृत विवरण दिएनन्।

तस्वीर कपीराइट Getty Images
Image caption फ्रिडम पार्टीका हाइन्ज क्रिष्टियन स्ट्र्याखले कुर्ट्जलाई "ढोँगी" भनेका थिए।

उनीहरुले शनिबार सहमतिबारे अष्ट्रियाका राष्ट्रपति र आ-आफ्ना पार्टीलाई जानकारी दिने बताए।

दुई महिना अघिको चुनावमा युरोपको आप्रवास संकट मुख्य मुद्दा बनेको थियो जुन आप्रवासन विरोधी फ्रिडम पार्टीले लामो समयदेखि वकालत गर्दै आएको थियो।

कुर्ट्जले कन्जरभेटिभ र दक्षिणपन्थी मतदातासँग आप्रवासीको युरोप प्रवेश गर्ने मार्ग बन्द गर्ने, शरणार्थीलाई दिँदै आएका सहुलियत नियन्त्रण गर्ने र अष्ट्रियामा बसेको पाँच वर्ष पुरा नभएसम्म राज्यका विभिन्न सुविधा नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।

फ्रिडम पार्टीले कुर्ट्जलाई आफूहरुको नीति चोरेको आरोप लगाएको थियो।

सम्बन्धित सामग्री