क्याटलोनिया: चुनावमा मतदाता विभाजित

  • 21 डिसेम्बर 2017
तस्वीर कपीराइट EPA

क्याटलोनिया क्षेत्रका जनताले स्पेनबाट स्वतन्त्र हुन चाहने र नचाहने पक्षबीच प्रतिस्पर्धा भइरहेको चुनावमा मतदान गरिरहेका छन्।

क्याटलोनियाको स्वतन्त्रताको लागि गरिएको विवादास्पद जनमत संग्रहपछि स्पेनले क्याटलोनियामा क्षेत्रीय चुनाव आयोजना गरेको हो।

चुनावमा क्याटलान स्वतन्त्रताको पक्षधर दलहरु र क्याटलान क्षेत्र स्पेनकै अर्द्ध-स्वायत्त क्षेत्र रहनुपर्ने पक्षमा उभिएका दलहरुबीच तीव्र प्रतिस्पर्धा हुने प्रारम्भिक आकलन गरिएको छ।

क्याटलोनियामा जारी चुनावमा बिहीबार मध्यान्ह सम्ममा ३४ प्रतिशत मतदान भएको अधिकारीहरुले बताएका छन्।

त्यो सन् २०१५ को क्षेत्रिय चुनावको तुलनामा केही कम हो।

बार्सिलोनास्थित बीबीसीका युरोप संवाददाता ग्याभिन लीका अनुसार मतदान स्थलमा घर पालुवा कुकुरहरुलाई पनि ल्याउन दिइएको छैन र हरेक मतदाताले २० मिनेट जति लाइनमा उभिएर मत हाल्न पालो कुरिरहेका छन्।

आकलन

विभिन्न सर्वेक्षणहरुले ८५ प्रतिशत मतदाता मतदान गर्न आउने अनुमान गरेका छन्।

यसै साता एल पाइस् पत्रिकाले प्रकाशित गरेको सर्वेक्षणले स्वतन्त्रता पक्षधर इआरसी पार्टी पहिलो स्थानमा र स्पेनसँगको एकताको पक्षमा रहेको सीएस पार्टी दोस्रो स्थानमा आउने जनाएको थियो।

बर्खास्त गरिएका क्याटलान राष्ट्रपति कार्लस पुज्डमोनको दल चाहिँ तेस्रो स्थानमा आउने अनुमान गरिएको छ।

त्यसको अर्थ स्वतन्त्रताको पक्षमा कुनै दलले बहुमत नल्याएपछि नयाँ सरकार गठनका लागि लामो बहस चल्न सक्छ।

पुज्डमोन र अन्य नेताहरुले मतदानको दिनलाई ऐतिहासिक भन्दै बढ्दो रुपमा मतदानमा भाग लिन आह्वान गरेका छन्।

गत अक्टोबर १७ मा क्याटलान संसदले जनमत संग्रहको परिणामका आधारमा स्वतन्त्रता घोषणा गरेपछि क्याटलान संकट गहिरिएको हो।

ऐतिहासिक

त्यसपछि बढेको तनावबीच स्पेनी प्रधानमन्त्री मारिआनो राखोएले क्याटलान सरकारलाई बर्खास्त गर्दै चुनाव घोषणा गरेका थिए।

क्याटलान नेता र कतिपय मतदाताहरुले बिहीबारको चुनावलाई ऐतिहासिक भनेका छन्।

तर क्याटलोनियाले अब कुन बाटो पहिल्याउने छ त्यसको निर्धारण मतपरिणामले मात्रै देखाउने छ।

बीबीसीका एक संवाददाता भन्छन्, चुनावले क्याटलोनियाको राजनीतिक संकट समाधान गर्ने सम्भावना निकै कम छ।

सम्बन्धित सामग्री