‘मोदी-ओली कुराकानी: चर्चा चीनको’

  • 21 डिसेम्बर 2017
ओली-मोदी तस्वीर कपीराइट BBC/Getty

एमाले अध्यक्ष केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन कुराकानीमा आफूहरुले भारत र चीनसँग सहकार्य गर्न चाहेको बताएको उनको दलले जनाएको छ।

सचिव प्रदीप ज्ञवालीद्वारा जारी वक्तव्यमा भनिएको छ, "अबको ध्यान स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित हुने बताउँदै अध्यक्ष ओलीले यसका लागि छिमेकीहरुसँग सुसम्बन्ध कायम गरिने बताउनुभयो।"

खासगरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताउँदै ओलीले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिनुका साथै सरकार गठन लगत्तै औपचारिक निमन्त्रणापत्र पठाइने बताएको वक्तव्यमा उल्लेख छ।

एमाले सचिव ज्ञवाली मोदीसँगको कुराकानीमा चीनको प्रसङ्ग उठ्नुलाई स्वभाविक ठान्छन्।

उनी भन्छन्, "भारत र चीनबीच समदूरीमा सुमधुर सम्बन्ध राख्ने नेपालको स्थिर नीति रहँदै आएको छ। त्यो कुरा लुकाउनुपर्ने वा भन्दा समस्या हुने विषय होइन।"

एमाले अध्यक्ष ओलीलाई मोदीले भावी प्रधानमन्त्रीको रुपमा हेर्दै उनलाई भारत भ्रमणको निम्तो समेत दिएको देखिन्छ।

ओली र मोदीबीच भएको कुराकानीसम्बन्धमा वक्तव्यमा भनिएको छ, "…मोदीले गठबन्धनको जितले नेपालमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक विकास हुने विश्वास व्यक्त गर्नुभयो।"

वक्तव्य अनुसार मोदीले सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा दिँदै आफू ओलीलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएका थिए।

बधाई

भारतीय प्रधानमन्त्री मोदीले बिहीवारै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा कुराकानी गरेका थिए।

ती नेताका निकटवर्तीहरुले मोदीले तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न भएको भन्दै नेताहरुलाई बधाई दिएको बताएका छन्।

तर भारतीय पक्षले टेलिफोन कुराकानी भएको पुष्टि गरेपनि छलफल भएका विषयबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन।

भारतीय विदेशमन्त्रालयका प्रवक्ता रभिश कुमारले दिल्लीमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा भने, "प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्नुभयो। तर त्यो कुराकानीको विस्तृत विवरण हाललाई छैन।"

अर्थपूर्ण

परम्परागत रुपमै नेपालमा प्रभावशाली रहँदै आएको दक्षिणी छिमेकीका कार्यकारी प्रमुखले एकैदिन तीनैवटा प्रमुख दलका शीर्षस्थ नेताहरु गरेको कुराकानीलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन्।

भारतीय समकक्षीले प्रधानमन्त्री देउवासँग राखेको धारणा सुनाउँदै उनका प्रेस संयोजक गोविन्द परियारले भने, "चुनावपछि नेपालको लामो संक्रमणकाल अन्त्य भएको छ र छिमेकी मुलुकहरुमा समृद्धि, स्थायित्व र विकास हुनु हाम्रो लागि खुसीको कुरा हो।"

बधाई आदानप्रदानको सिलसिला माओवादी अध्यक्ष प्रचण्डसँगको कुराकानीमा पनि देखियो जुन उनको सचिवालयले पुष्टि गरेको छ।

कुन नेतासँग अघिपछि मोदीले कुराकानी गरे भन्ने प्रष्ट भइसकेको छैन।

तर तीनै नेताका निकटवर्तीहरुसँग बीबीसीले कुरा गर्दा एमाले अध्यक्ष ओलीसँग तुलानात्मक रुपमा मोदीको लामो समय कुराकानी भएको देखिन्छ।

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि नेपालमा अब बन्ने सरकार आफू अनुकूल नहुने भारतले ठानेको भन्ने विवरणकामाझ मोदीले ती दलका नेताहरुसँग गरेको टेलिफोन कुराकानीलाई कतिपयले त्यस्तो सम्भावित परिस्थिति आउन नदिने प्रयासका रुपमा हेरेका छन्।