प्रदेशसभा: समानुपातिकमा १३ दललाई सिट

  • 22 डिसेम्बर 2017
निर्वाचन आयोग

केन्द्रमा पाँचवटा दलले मात्रै समानुपातिकतर्फ सिट पाउने देखिएका बेला प्रदेशसभामा भने १३ वटा पार्टीले प्रवेश पाएका छन्।

निर्वाचन आयोगले शुक्रवार प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गरेअनुसार सातवटै प्रदेशमा गरी कुल २२० मध्ये एमालेले सबैभन्दा धेरै ७५ स्थानमा जितेको छ।

कांग्रेसले एमालेकै हाराहारीमा ७२, माओवादी केन्द्र र उसको चुनाव चिन्ह लिएकाहरुले समेत गरी ३५, संघीय समाजवादी फोरमले १३ र राष्ट्रिय जनता पार्टी नेपालले १२ सिट पाएका छन्।

केन्द्रमा अन्तिम नतिजा घोषणा भई नयाँ सरकार गठनको प्रक्रिया थाल्न महत्वपूर्ण हुने प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट भने अर्को साताको पूर्वार्द्धसम्म भइसक्ने अधिकारीहरुले आशा गरेका छन्।

उपस्थिति

प्रदेशसभाको समानुपातिकमा सिट पाउन आवश्यक पर्ने डेढ प्रतिशत न्यूनतम मत संख्या अर्थात् थ्रेसहोल्ड कटाएका १३ वटा दलले एक देखि ७५ वटा सिटसम्म पाएका हुन्।

तर एमाले, कांग्रेस र माओवादी केन्द्र बाहेक अन्य दलले सबै सातवटै प्रदेशमा उपस्थिति जनाउन सकेनन्।

प्रदेशसभामा पहिलो हुनेले जित्ने प्रणालीतर्फको सिट र समानुपातिकतर्फको मिलाउँदा प्रदेश २ छाडी सबैमा वाम गठबन्धनले सरकार बनाउन सक्ने देखिन्छ।

निर्वाचन आयोगले शुक्रवारै सात दिनको म्याद दिदैं दलहरुलाई आफूहरुले पाएको सिट संख्या अनुसार समानुपातिकको बन्दसूचीमा रहेको नाम समूहगत प्रतिनिधित्व मिलाएर पठाउन भनेको छ।

तर त्यस्तो प्रतिनिधित्व बन्दसूचीको क्रमअनुसार 'यथासम्भव गर्ने' ऐनमा भनिएकाले क्रम मिचिने चिन्ता पनि व्यक्त भएको पाइन्छ।

त्यस्तो चिन्तातर्फ लक्षित जस्तो देखिने जवाफमा, आयोगमा समानुपातिक निर्वाचन अधिकृत एवम् सचिव बेगेन्द्रराज शर्मा पौडेलले पत्रकारहरुसँग भने, "आयोगको निर्णय भनेको जुन प्राथमिकता क्रममा दलहरुले बन्द सूची बुझाएका थिए, नाम चयन गर्दा पनि त्यही क्रम अनुसार हुनुपर्छ भन्ने हो।"

Image caption प्रदेशसभाको समानुपातिकतर्फको नतिजा शुक्रवार सार्वजनिक गर्दै निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेल

ढिलाइ

नयाँ दलहरु विवेकशील साझा र नयाँ शक्ति पार्टी नेपालले पनि प्रदेशसभामा आफ्नो उपस्थिति जनाउने भएका छन्।

तीनवटा प्रदेशमा धेरै मत ल्याउने दललाई क्रमश: सिट दिंदै जाने क्रममा, बाँड्नुपर्ने कुल सिट सकिएपछि थ्रेसहोल्ड कटाएपनि कतिपय दलले पाउन सकेनन् जसको घाटा राप्रपा, विवेकशील साझा र नेमकिपालाई भएको देखिन्छ।

प्रदेशसभाको काम सकिएलगत्तै शुक्रवारबाटै प्रतिनिधिसभाको समानुपातिकतर्फको पनि सिट बाँडफाँटको काम थालिएको अधिकारीहरुले बताएका छन्।

प्रदेशसभा र प्रतिनिधिसभाको काम अघिपछि किन गरिएको भन्नेबारे निर्वाचन आयोगले जवाफ दिएको त छैन तर परिणाम निकाल्ने प्रक्रियामा ढिलाइ भइरहेको भन्ने खालको आरोपको भने उसले खण्डन गर्यो।

आयोगका सचिव पौडेल भन्छन्, "हामीले ढिलो गरेको भन्ने खालको आरोपले दु:खित तुल्याएको छ। हामीले प्रदेशसभातर्फको सिट बाँडफाँट मतगणना सकिएको चार दिनभित्र सकेका छौं, त्यसैले ढिलो भएको भन्न मिल्दैन।"

उनले प्रतिनिधिसभाको समानुपातिकतर्फ पनि अर्को साताको पूर्वार्द्धसम्म सिट बाँडफाँट हुने बताए तर दलहरुले सूची पठाउन एक हप्ता र त्यो सच्याउन थप तीन दिन पाउनेछन्।

यसको अर्थ केन्द्रीय चुनावको अन्तिम परिणामको औपचारिक घोषणा छिटोमा पुसको अन्तिम साताअघि हुने छाँटकाँट छैन जसका कारण त्यतिञ्जेलसम्म नयाँ सरकार गठनको प्रक्रिया समेत अघि बढ्न सक्नेछैन।