उत्तर कोरियाविरुद्ध नयाँ कडा प्रतिबन्ध

  • 23 डिसेम्बर 2017
राष्ट्रसंघ तस्वीर कपीराइट Reuters

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाले हालै क्षेप्यास्त्र परीक्षण गरेकोमा प्रतिक्रियास्वरुप कडा प्रतिबन्धहरु लगाउन सर्वसम्मतिले मतदान गरेको छ।

संयुक्त राज्य अमेरिकाले तयार पारेको प्रस्तावमा उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले घटाउनेसहितका कदमहरु समावेश छन्।

उत्तर कोरियाका प्रमुख व्यापार साझेदारहरु चीन र रुसले प्रतिबन्धको पक्षमा मतदान गरेका छन्।

उत्तर कोरियाले पहिल्यैदेखि अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपेली संघका कैयौँ प्रतिबन्धहरु झेलिरहेको छ।

उत्तर कोरिया ‘आतंकवाद प्रायोजन गर्ने राज्य’

‘उत्तर कोरिया यात्रामा अमेरिकी प्रतिबन्ध’

एक पाइला पनि पछि हट्दैनौँ: उत्तर कोरिया

एक्ल्याउने

वाशिङटनले सन् २००८ देखि नै प्योङयाङविरुद्ध प्रतिबन्धहरु लगाउँदै आएको छ।

उसले उत्तर कोरियाका व्यक्तिगत तथा पारमाणविक कार्यक्रमसम्बन्धी कम्पनीहरुको सम्पत्ति रोक्का गर्दै आउनुका साथै प्योङयाङलाई सामान निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ।

तस्वीर कपीराइट KCNA

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले "प्रतिबन्धहरुले प्योङयाङको थप अवज्ञाले थप दण्ड दिन तथा एक्ल्याउने दिशातर्फ लग्ने स्पष्ट सन्देश दिएको" बताएकी छन्।

राष्ट्रसंघका लागि चिनियाँ राजदूतले "मतदानले उत्तर कोरियाको अस्त्र कार्यक्रमबारे अन्तर्राष्ट्रिय समुदायको सर्वसम्मत धारणा रहेको भन्ने देखाएको" बताए।

तनाव

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघीय प्रस्तावको स्वागत गरेका छन्।

उनले "विश्वले मृत्यु नभई शान्ति चाहेको" भन्दै ट्वीट गरेका छन्।

उत्तर कोरियाको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर यो वर्ष तनाव चुलिएको छ।

विश्व शक्तिहरुले बन्द गर्न दबाब दिइरहे पनि उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।