'नभाल्नी चुनावमा उठ्न अयोग्य'

  • 26 डिसेम्बर 2017
तस्वीर कपीराइट AFP
Image caption नभाल्नीले मतदाताहरुलाई चुनाव बहिष्कार गर्न आह्वान गरेका छन्

रुसको निर्वाचन आयोगले एकजना प्रमुख विपक्षी नेता एलेक्से नभाल्नी आउँदो वर्ष हुनगैरहेको राष्ट्रपतीय चुनावमा उम्मेदवार हुन नपाउने जनाएको छ।

निर्वाचन आयोगकी प्रमुख एला पाम्फिलोभाले भनिन्, "नाभाल्नीलाई एउटा फौज्दारी अभियोगमा दोषी ठहराइएकाले उनी चुनावमा उम्मेदवार हुन अयोग्य छन्।"

उनले चुनावमा उठन आफुले पर्याप्त हस्ताक्षर संकलन गरेको भनी नाभाल्नीले जनतालाई झुक्याएको आरोप पनि लगाइन्।

रुस: नभाल्नीलाई 'पर्याप्त समर्थन'

आह्वान

नभाल्नीले उनले भाग नलिने चुनाव अवैध हुने भन्दै मतदाताहरुलाई चुनाव बहिष्कार गर्न आह्वान गरेका छन्।

आइतबार मस्को नदीको किनारमा आफ्ना समर्थकहरुलाई संबोधन गर्दै आउँदो मार्च महिनामा हुन गैरहेको राष्ट्रपतीय चुनाव लड्न आफूले पर्याप्त समर्थन पाएको बताएका थिए।

४१ वर्षीय नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन्।

उनले पुटिनले रुसलाई व्यक्तिगत लाभको स्रोत बनाएको आरोप पनि लगाए।

उनले भने, "त्यो व्यक्ति तपाईँ भ्लादिमिर पुटिन नै हो, जसले यो देशलाई आफ्नो, आफ्ना नातागोता र साथीहरुको व्यक्तिगत लाभको स्रोत बनाइरहनु भएको छ। त्यसैले तपाईँ यो देशको राष्ट्रपति हुने होइन।"

आयोजना

तस्वीर कपीराइट EPA
Image caption पुटिन चौथो कार्यकालकालागि राष्ट्रपति चुनिन चाहेका छन्

नभाल्नीको पक्षमा जनमत निर्माण गर्न आइतवार उनका समर्थकहरुले २० वटा शहरहरुमा भेलाको आयोजना गरेका थिए।

ती भेलामार्फत संकलित हस्ताक्षरले निर्वाचन आयोगमाथि दबाब बढाउन सकिने नभाल्नीको आशा थियो।

केन्द्रीय निर्वाचन आयोगले नभाल्नी अनियमितताको मुद्दामा दोषी पाइएकाले उनी अयोग्य हुने बताइसकेको छ।

नभाल्नी चाहिँ त्यो मुद्दा राजनीतिक उद्देश्यले अभिप्रेरित भएको बताउँछन्।

पुटिनको पक्षमा ठूलो जनमत रहेको र उनले चौथो कार्यकालको चुनाव पनि सहजै जित्न सक्ने आकलन गरिएको छ।

लामो शासन

चौथो कार्यकालकालागि राष्ट्रपति चुनिएमा पुटिन जोसेफ स्टालिन पछि सबैभन्दा लामो समयसंम शासन गर्ने रुसी नेता हुनेछन्।

नभाल्नीलाई सन् २०१३ मा किरोभ राज्यका गभर्नरको सल्लाहकार हुँदा सरकारी काठ कंपनीबाट झण्डै पाँच लाख डलर बराबरको काठ घोटाला गरेकोमा दोषी ठहराइएको थियो।

तर युरोपेली मानवअधिकार अदालतले नभाल्नीलाई मुद्दाको सुनुवाइ हुँदा आफ्नो पक्ष राख्‍ने पर्याप्त मौका नदिइएको भन्दै त्यस्तो फैसला मान्य नहुने बताएको थियो।

दोषी ठहर

तर यसै वर्षको शुरुमा एउटा रुसी अदालतले मुद्दाको पुन: सुनुवाइ गर्दा उनलाई फेरि दोषी ठहर गरेको थियो।

नभाल्नीले आफुमाथि लागेको आरोपहरुको खण्डन गर्नुकासाथै ती राजनीति प्रेरित भएको बताउँदै आएका छन्।

गत साता एपी समाचार संस्थासँगको अन्तर्वार्तामा उनले आफूलाई "चुनाव लड्न दिइएमा र प्रमुख सञ्चार माध्यम प्रयोग गर्न दिइएमा" आफू विजयी हुने बताएका थिए।

उनले एपीसँग भने, "पुटिनसँग भन्ने कुरा केही पनि छैन। उनी आफ्ना पुराना वाचा पूरा गर्न विफल भइसकेका छन्।"

सम्बन्धित सामग्री