आयोगले समानुपातिक सूचीको छानबिन गर्ने

  • 29 डिसेम्बर 2017
निर्वाचन आयोग

१३ वटा राजनीतिक दलहरुबाट प्रदेशसभाको समानुपातिकतर्फका सांसदहरुको सूची बुझेको निर्वाचन आयोगले शनिवारबाटै ती नामावलीको छानबिन थालिने जनाएको छ।

सात प्रदेशमा समानुपातिकतर्फको कुल २२० सिटमा दलहरुले आफूले पाएको सिट अनुसार शुक्रवार साँझको समयसीमाभित्र आफ्ना सांसदका सूचिहरु बुझाएका हुन्।

ती दलले प्रदेशसभामा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्ने गरी अन्य समावेशी समूहलाई पनि समेट्नु पर्ने कानुनी व्यवस्था छ।

प्रदेशसभाको समानुपातिकतर्फ एक सिट मात्र जित्न सफल एउटा दलले आफ्नो सांसदको सूचीमा एक पुरुषको नाम राखेको पाइएपछि शुक्रबार निर्वाचन आयोगमा केहीबेर अन्योल भएको अधिकारीहरुले बताउँछन्।

नियम कानुन विपरित पेस भएका हुनसक्ने त्यस्तै नामहरु सूचीमा भए-नभएकोबारे आयोगले शनिबारदेखि नै विस्तृत छानबिन थाल्ने योजना बनाइएको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले बीबीसीलाई बताए।

जाँच

"उहाँहरुले बुझाएको त्यो सूचीमा महिला, दलित, आदिवासी जनजाति, खस-आर्य र अपाङ्गता भएका समूहको प्रतिनिधित्व कानुन अनुसार भए नभएको जाँच हुन्छ," उनले भने।

दलहरुले प्रदेशसभामा प्रतिनिधित्व गर्ने कूल सदस्य संख्याको ३३ प्रतिशत महिला हुनु पर्ने र दलित, आदिवासी, जनजाति, खस-आर्य र अपाङ्गता भएका व्यक्ति जस्ता समावेशी समूहको प्रतिनिधित्व हुने गरी सांसदको सूची पेश गर्नु पर्ने कानुनी व्यवस्था छ।

निर्वाचन आयोगका प्रवक्ता घिमिरेका अनुसार छानबिनको क्रममा दलहरुले बुझाएको सूचीमा समावेशी नियम पालना नभएको पाइएमा दलहरुलाई सच्याउन तीन दिनको समय दिइनेछ।

प्रदेशसभा समानुपातिक निर्वाचनतर्फ नेकपा एमालेले ७५, नेपाली कांग्रेसले ७२, माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरम नेपालले १३, राष्ट्रिय जनता पार्टी नेपालले १२, राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीले क्रमश: तीन, तीन र राष्ट्रिय जनमोर्चाले दुई सिट जितेका छन्।

नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल, संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले क्रमश: एक, एक सिट पाएका छन्।

मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा अधिकांस प्रमुख दलहरुले प्रत्यक्षतर्फ निकै कम महिला उम्मेदवार उठाएको भनी आलोचित भएका थिए।

संकेत

तर समानुपातिकतर्फ भने उनीहरुले त्यस्को क्षतिपूर्ति गर्ने प्रयास गर्दै महिलाहरुलाई स्थान दिने संकेत गरेका छन्।

निर्वाचन आयोगमा सूची बुझाएका नेपाली कांग्रेस, माओवादी केन्द्र र अन्य दलहरुले कतिको संख्यामा महिला सांसदको नाम पठाएका छन् त्यो प्रष्ट भइसकेको छैन।

तर बिहिबार आफ्नो सूची सार्वजनिक गरेको नेकपा एमालेले प्रदेशसभा समानुपातिकतर्फ निर्वाचित ७५ सांसदमध्ये अधिकांश महिला पठाउने निर्णय सार्वजनिक गरेको थियो।