इरानमा श्रृंखलाबद्ध रुपमा हिंसात्मक झडप

  • 31 डिसेम्बर 2017
झडप तस्वीर कपीराइट EPA

इरानी शहरहरुमा भएका सरकार विरोधी केही प्रदर्शनहरु थप हिंसात्मक बन्दै गएको सामाजिक सञ्जालमा राखिएका भिडिओहरुमा देखिएको छ।

पश्चिमी इरानको डोरुडमा प्रदर्शनकारीहरुमाथि गोली प्रहार भएपछि दुईजनाको ज्यान गएको तिनैमध्येका भिडिओमा देखिन्छ।

देशका अन्य भागमा खिचिएका भिडिओहरुमा प्रदर्शनकारीहरुले प्रहरीको गाडीमा आगो लगाएको देखिन्छ र सरकारी भवनहरुमा पनि आक्रमण भएको खबरहरु आएका छन्।

इरानका आन्तरिक मामिलासम्बन्धी मन्त्रीले उनीहरुको विरोध प्रदर्शन र र्यालीहरुलाई गैरकानूनी भन्दै त्यस्ता भेलाहरु नगर्न चेतावनी दिएका छन्।

इरान: 'गैरकानूनी भेला'मा भाग नलिन चेतावनी

खण्डन

त्यसका बावजुद बिहीवारबाट शुरु भएको विरोध प्रदर्शनहरु शनिबार तेस्रो दिन पनि देशका विभिन्न शहरहरुमा जारी छन् र ती थप हिंसात्मक बन्दै गएका छन्।

सडकमा उत्रिएका मानिसहरुले भ्रष्टाचार र महँगीविरुद्ध नारा लगाउँदै राष्ट्रपति हसन रुहानी, त्यहाँका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनी र धर्म गुरुहरुबाट गरिने शासनको विरोध गरिरहेका छन्।

तस्वीर कपीराइट AFP

यसअघि तेहरान विश्वविद्यालयको वरपर स-साना समूहले प्रदर्शन गरेका भिडिओहरु सामाजिक सञ्जालहरुमा राखिएका थिए।

ती भिडिओमा उनीहरुले सर्वोच्च नेता खामेनीले पद छोड्नपर्ने भन्दै नारा लगाएको सुनिन्छ।

इरानका शहरमा सरकार विरोधी प्रदर्शन बढ्दै

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको इरानसम्बन्धी पछिल्लो ट्वीटमा दमनकारी शासन धेरै टिक्न नसक्ने भन्दै इरानी जनताले आफ्नो रोजाईको सरकार पाउने दिन आउन सक्ने बताएका छन्।

इरानको विदेश मन्त्रालयले ट्रम्पको टिप्पणी 'अवसरवादी र कपटपूर्ण' भएको भन्दै खण्डन गरेको छ।

बीबीसीका विर डेभिसले भने, "इरानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने बदलामा सन् २०१५ मा इरानले आफ्नो आणविक कार्यक्रम बन्द गर्ने अन्तर्राष्ट्रिय सम्झौताको ट्रम्पले निरन्तर रुपमा निन्दा गर्दै आएका छन्।"