प्रत्यक्षतर्फ तीन प्रतिशत मत 'बदर'

  • 8 जनवरी 2018
निर्वाचन आयोग

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पहिलो हुनेले जित्ने प्रणालीतर्फ करिब तीन प्रतिशत मत बदर भएको निर्वाचन आयोगको प्रारम्भिक प्रतिवेदनले देखाएको छ।

समानुपातिकतर्फ बदर भएको मतसंख्या यकिन गरिनसकेकाले कुल बदर संख्या थप बढ्ने आयोगका अधिकारीहरूले बताएका छन्।

तर कतिपय जानकार मतदाता शिक्षाका लागि कम समय दिँदा त्यो प्रभावकारी हुन नसकेको र त्यसका कारण मत बदर हुने क्रम नरोकिएको बताउँछन्।

आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा ३.१८ प्रतिशत मत बदर भएको थियो।

बदर संख्या

प्रतिनिधि तथा प्रदेश सभा चुनावमा केही कम मत बदर भएको आयोगका प्रवक्ता नवराज ढकाल बताउँछन्।

उनले भने, "प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ ३ प्रतिशतको हाराहारीमा मत बदर भएको र समानुपातिकतर्फ केही बढी बदर भएको छ भन्ने प्रारम्भिक आंकडा प्राप्त भएको छ।"

आयोगले मतदाता शिक्षाका लागि झण्डै २० हजार कार्यकर्ता परिचालन गरेको थियो र यसका लागि करिब ४० करोड रुपैयाँ खर्च भएको थियो।

यसका अतिरिक्त सरकारी र निजी सञ्चारमाध्यममार्फत मतदाता शिक्षा सञ्चालन गर्न पनि करोडौँ रुपैयाँ खर्च भएको थियो।

आलोचना

यतिका धेरै स्रोत खर्च हुँदा पनि मतदाता शिक्षा प्रभावकारी हुन नसकेको आरोप लाग्दै आएको छ।

यससँगै राजनीतिक दलहररुले पनि मतदातालाई मत खसाल्न सिकाउन नसकेको देखिएको पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ बताउँछन् ।

उनले भने, "मतदाता शिक्षा प्रत्येक व्यक्ति-व्यक्तिमा पुर्‍याउन नसक्नु एउटा कारण हो। राजनीतिक दलहरू एउटा मूख्य सरोकारवालाहरू हुन् तर उनीहरूले मतदातालाई कसरी भोट खसाल्ने भनेर राम्रोसँग बुझाउन सकेनन्। "

आयोगले भने मतदाता शिक्षाका लागि निकै कम समय पाएको भन्दै बचाउ गर्ने गरेको छ।