ट्युनिसियाः सरकारद्वारा सुधार योजना सार्वजनिक

  • 14 जनवरी 2018
सर्वपक्षीय बैठक तस्वीर कपीराइट AFP/GETTY

ट्युनिसियाको सरकारले कैयौँ दिनदेखि भइरहेका मितव्ययीता विरोधी प्रदर्शनहरूको प्रतिक्रियास्वरुप सामाजिक सुधारका कार्यक्रमहरु घोषणा गरेको छ।

गरीब जनतालाई लक्षित गरी ल्याइएका ती योजनाहरुले स्वास्थ्य सेवा, आवास र सहायता रकम वृद्भिको प्रस्ताव गरेको छ।

ट्युनिसियाका पूर्व नेता जिन अबादिन बेन अलिलाई सात वर्ष अघि सत्ताच्युत गरिएको वर्षगाँठ पुगेको दिन त्यहाँ थप विरोध प्रदर्शनहरु भएका हुन्।

राष्ट्रपति कार्यालयमा दुई घण्टासम्म राष्ट्रपति बेइजी काइद एसेब्सी, राजनीतिक दलहरु तथा ट्रेड युनियनहरु सामेल बैठकपछि ट्युनिसियाको सरकारको त्यस्तो घोषणा आएको हो।

गरीबमुखी भनिएका ती सुधारका योजनाहरु संसद्‍मा पेश गरिएको त्यहाँका अधिकारीहरुले बताएका छन्। ट्युनिसियाका राष्ट्रपति एसेब्सीले आइतबार ट्यूनिशस्थित एक क्षेत्रको भ्रमणको क्रममा जनताको पीडा आफूले बुझेको बताएका थिए।

प्रदर्शनहरू

सो क्रममा उनले युवा लक्षित रोजगारीहरुमा वृद्धि गरिने प्रतिबद्धता जनाएका थिए। सरकारले ७ ज्यानुअरीमा करमा गरेको वृद्धि र अन्य मितव्ययी उपायहरुका विरोधमा ती प्रदर्शनहरु शुरु भएका थिए।

साथै केही सामग्रीहरुको भाउ पनि सरकारले बढाएको थियो।

त्यसको विरोधमा कम्तीमा १० विभिन्न स्थानहरुमा विरोध प्रदर्शनहरु भएका छन्।

हालसम्म ८ सय भन्दा बढी मानिसहरु हिंसा मच्चाएको चोरी तथा लुटपाटको आरोपमा पक्राउ आन्तरिक मामिला मन्त्रालयमा एक प्रवक्ताले बताएका छन्।

साथै सुरक्षा सैन्यका ९७ जना घाइते भएको ती प्रवक्ताले बताए तर कति प्रदर्शनकारीहरु घाइते भएको बारे उनले केही बताएनन्।

गत हप्ता भएका प्रदर्शनहरु हिंसात्मक रुप लिएको थियो।

प्रदर्शनकारीहरुले प्रहरीका गाडीहरु तथा अधिकारीहरुमाथि आक्रमण गरेको आरोप सरकारले लगाएको छ।

तर प्रहरीले उनीहरुमाथि कारवाही थालेको भनाइ प्रदर्शनकारीहरुको छ।

विपक्षी दलहरुले विरोध प्रदर्शनहरुको आह्वान गरेपछि प्रदर्शनकारीहरुले पुनः विरोधमा उत्रिएका छन्।

सन २०११ मा भएको अरब वसन्त भनिने विद्रोहको शुरुवातमा क्रममा अबदिन बेन अलिलाई राष्ट्रपतिको पदबाट हटाएपनि अवस्थाहरुमा केही सुधार नभएको उनीहरुको तर्क छ ।

सम्बन्धित सामग्री