'प्रदेशको नेतृत्व बाँटफाँटबारे थप गृहकार्य'

  • 21 जनवरी 2018
एमाले-माके बैठक तस्वीर कपीराइट CMPRACHANDA.COM
Image caption दुई ठूला वामदलहरूबीच हुने भनिएको एकता र उनीहरूको नेतृत्व बाँटफाँटबारे अझै निकै छलफल हुन बाँकी नै छ।

एमाले र माओवादी केन्द्रका शीर्षस्थ नेता सम्मिलित पार्टी एकता संयोजन समितिले राष्ट्रियसभा चुनावका लागि वाम गठबन्धनकातर्फबाट उठाइने उम्मेदवारहरूको बाँटफाँटको औपचारिक टुंगो लगाएको नेताहरुले बताएका छन्।

तर प्रादेशिक सरकारको खाका र सम्भाव्य नेतृत्व बाँटफाँटको विषयमा थप गृहकार्य पछि निर्णय गरिने उनीहरुको भनाइ छ।

साथै दुई दलका नेताहरूले नयाँ सरकार गठनपछि समृद्धिको खाका कोर्न भन्दै एक कार्यदल बनाउने निर्णय गरेको छ।

देशैभर प्रदेशसभाका सदस्यहरूले शपथ लिएकै दिन भएको वाम गठबन्धनका शीर्षस्थ नेताहरु सहभागी पार्टी एकता संयोजन समितिको बैठकले प्रदेशसभाको नेतृत्वको बाँटफाँटको विषय समेत किनारा लगाउने अपेक्षा गरिएको थियो।

त्यसबारे एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र अन्य नेताहरू सामेल बैठकमा निर्णय नभएपनि राष्ट्रियसभामा उम्मेदवारको बाँटफाँटको टुंगो लागेको बैठकमा सहभागी एमाले नेता सुवास नेम्वाङले बताए।

उनका अनुसार माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा ५६ मध्ये ४३ सिटमा वाम गठबन्धनले उम्मेदवारी दिने र त्यसमध्ये एमालेले २९ र माओवादी केन्द्रले १४ उम्मेदवार उठाउने सहमति भएको छ।

'तत्कालै'

प्रदेशसभा र सरकारको नेतृत्व बाँडफाँटका विषयमा थप गृहकार्य आवश्यक रहेको नेता नेम्वाङले बताए।

उनले भने, "शीर्षस्थ नेताहरूले हामीलाई प्रदेशबारे पनि सहमति जुटाउन अनुरोध गर्नु भएको छ। हामी तत्कालै काम थाल्दैछौं।"

एमाले र माओवादी केन्द्रबीच वैचारिक र सांगठनिक एकताका विषयमा आइतवारबाटै छलफल हुने बताइएपनि त्यस विषयमा समान्य छलफल मात्र भएको नेताहरूको भनाइ छ।

बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार त्यस विषयमा शीर्षस्थ र शीर्ष नेताहरूको तहमा थप छलफहरू गर्दै अघि बढ्ने सहमति भएको छ।

दुई ठूला वामदलहरूबीच हुने भनिएको एकता र उनीहरूको नेतृत्व बाँटफाँटबारे अझै निकै छलफल हुन बाँकी नै छ।

तर दुई शीर्षस्थ नेताहरू सहभागी एकता संयोजन समितिको बैठकले नयाँ सरकार गठनपछि सुशासन र समृद्धिको खाका कोर्न भन्दै एमाले नेता वामदेव गौतमको नेतृत्वमा एक कार्यदल बनाउने निर्णय गरेको छ।

सम्बन्धित सामग्री