नेपाली पर्वतारोहणकी अध्येता रहिनन्

  • 26 जनवरी 2018
एलिजाबेथ हली तस्वीर कपीराइट Bikram Rai

नेपालका अग्ला हिमाल आरोहणहरूको ५० वर्षभन्दा धेरै समयदेखि अभिलेख राख्दै आएकी एकजना अध्येता एलिजाबेथ हलीको ९४ वर्षको उमेरमा काठमाण्डूस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

काठमाडौंको कपुरधारास्थित सिवेक अस्पतालले उनको निधन शुक्रवार बिहान भएको पुष्टि गरेको हो।

सन् १९६० यता लगभग सबैजसो समय उनी नेपाल बस्दै आएकी थिइन्।

पत्रकारसमेत रहेकी उनी रोयटर्स र टाइम जस्ता प्रतिष्ठित पत्रिकाहरूमा काम गर्थिन्।

नेपाल आगमन

उनले 'द हिमालयन डाटाबेस' नामक वेबसाइटमा पर्वतारोहणसम्बन्धी सबै अभिलेखहरू तथ्यांकसहित राखेकी छन्।

उनलाई सन् १९८० को दशकदेखि चिन्दै आएका पत्रकार कुन्द दीक्षितले उनीबारे भने, "कुन हिमालमा कुन समय को कहाँबाट चढ्यो र त्यतिबेलाको मौसम कस्तो थियो भन्ने सम्मको तथ्यांक उहाँले संकलन गरेर राख्नुहुन्थ्यो।"

सन् १९२३ मा जन्मिएकी हलीले मिसिगन विश्वविद्यालयमा पढेकी थिइन्।

न्यूयोर्कस्थित फर्च्युन पत्रिकामा अनुसन्धानकर्ताको रुपमा काम गरिरहँदा उनी आफ्नो जागिर छोडेर विश्व भ्रमणमा निस्किएका बेला काठमाडौं आएकी थिइन्।

त्यसपछि नै उनी हिमालबारे अनुसन्धान गर्न प्रेरित भइन् र सन् १९६३ देखि हिमाल आरोहणसम्बन्धी विवरणहरू संकलन गर्दै आएकी थिइन्।

त्यतिबेला नेपाल भर्खरै विदेशी पर्यटकका लागि खुल्ला गरिएको थियो।

उतिबेला नेपाली महिलाहरू एक्लै सार्वजनिक ठाउँहरूमा नदेखिने गरेको उनले केही वर्षअघि बीबीसीलाई दिएको अन्तर्वार्तामा बताएकी थिइन्।

चासो

करिब ३० वर्षको उमेरमा उनी काठमाडौंमा एक्लै बसेको देख्दा धेरैले त्यसबारे चासो लिन्थे।

उनले त्यतिबेला नेपालबाट पर्वतारोहणबारे समाचार रोयटर्स समाचार संस्थालाई पठाउन थालिन्।

उनी नेपाल आएदेखि नै काठमाण्डूको डिल्लीबजारस्थित भण्डारी कम्पाउण्डमा बस्न थालिन्।

र, त्यसयता सधैँ त्यहीँ बसिन्।

सगरमाथा आरोहण गर्ने पहिला व्यक्ति एडमण्ड हिलरी पनि नेपाल आउँदा उनी बसेकै घरमा बस्थे।

आफूहरु मिल्ने साथी रहेको उनले यसअघि बीबीसीलाई बताएकी थिइन्।

उनले पर्वतारोहणबारे मात्रै होइन नेपालको सन् २००१ मा भएको दरबार हत्याकाण्डपछि पनि सत्यतथ्य समाचारहरू अन्तर्राष्ट्रिय समाचार संस्थालाई पठाउने गर्थिन्।

पत्रकार दीक्षितले भने, "नेपालका विभिन्न गतिविधिका समाचार उहाँ पठाउनुहुन्थ्यो। दरबारसँग निकट सम्बन्ध रहेकोले उहाँले पठाएका सूचनाहरू तथ्यमा आधारित हुन्थे। अब नेपाललाई अन्तर्राष्ट्रिय जगत्‌मा चिनाउने र नेपालका गतिविधि संसारभर बताइदिने व्यक्ति रहिनन्।"

उनी नेपालका लागि न्यूजिल्याण्डकी अवैतनिक वाणिज्य दूत समेत भएकी थिइन्।

संकलन

उनले शुरु गरेका हिमाल पर्वतारोहणसम्बन्धी सूचना संकलनलाई केही पर्वतारोहीहरूले निरन्तरता दिन थालेको बताइएको छ।

उनले राखेका तथ्याङ्कहरुले हिमाल आरोहणका कतिपय विवादहरु समेत निरुपण गरेका उदाहरण छन्।

उनले सन् १९८८ देखि सन् २००७ सम्म नेपालबारे लेखेका सामग्रीहरूलाई संकलन गरी तयार पारिएको 'द नेपाल शिन' नामक पुस्तकको दुई भाग प्रकाशित छ।

उक्त पुस्तकमा नेपालको गएको ४० वर्षका विभिन्न घटनाक्रमहरू समेटिएको पत्रकार दीक्षितले बताए।

सम्बन्धित सामग्री