सिरियाद्वारा अमेरिकी हमलाको निन्दा

  • 8 फेब्रुअरी 2018
सिरिया तस्वीर कपीराइट AFP

संयुक्त राज्य अमेरिकाले सिरियामा आफ्ना कुर्द र अरब लडाकु साझेदारहरुमाथि एकाएक हमला गरेको सिरिया सरकारले जनाएको छ।

सिरिया सरकारले अमेरिकी नेतृत्वको गठबन्धनले गरेको त्यस्तो हमलाको निन्दा गरेको छ।

अमेरिकी अधिकारीहरुको अनुमानमा बुधबार भएको उक्त घटनामा सिरियाली सरकार समर्थक झण्डै एकसयजना सैनिकहरुको ज्यान गएको थियो।

रुसी लडाकु विमान सिरियामा खसालियो

हामा प्रान्तमा हवाई हमला, अस्पतालमा क्षति

अमेरिका समर्थित सिरियाली प्रजातान्त्रिक सैन्यले इस्लामिक स्टेट समूहको नियन्त्रणबाट आफ्नो कब्जामा लिएका क्षेत्रमा ती सिरियाली सरकार समर्थक सैनिकहरु प्रवेश गर्न खोजेको अमेरिकीहरुले आरोप लगाएका छन्।

हमला

सिरियाली सरकारी संचार माध्यमले अमेरिकी नेतृत्वको गठबन्धनले गरेको हमलामा दर्जनौं मानिसहरु मारिएका र घाइते भएका बताएको छ।

सरकार समर्थक सैन्यले एसडीएफको स्थापित मुख्यालयमा एकाएक हमला गरेको अमेरिकी नेतृत्वको गठबन्धनले आरोप लगाएको छ।

एउटा वक्तव्य जारी गर्दै सो गठबन्धनले आफू र आफ्ना साझेदारहरुको आत्मरक्षाका लागि आक्रमणकारी सैन्यलाई धपाउन तिनीहरु विरुद्ध हवाइ हमला गरेको दावी गरेको छ।

नाम उल्लेख नगरिएका अमेरिकी सैनिक अधिकारीहरुलाई उद्धृत गर्दै बताइए अनुसार हमलामा सिरियाली सरकार समर्थक झण्डै पांचसयजना सैनिकहरुले तोप, ट्यांक, रकेट र मोर्टारहरु सहित सो मुख्यालयमा हमला गरेका थिए।

हमलामा एसडीएफका एकजना लडाकुलाई चोट लागेको बताएको छ। कुनै पनि अमेरिकी हताहतिको विवरण प्राप्त भएको छैन।

तस्वीर कपीराइट Reuters

पूर्वी सिरियामा युफ्रेटिस नदीको उपत्यका क्षेत्र अनौपचारिक सीमा क्षेत्रको अवस्थामा रहेको छ।

कब्जा

त्यहांको पश्चिमी क्षेत्र सिरियाली सरकारको नियन्त्रण छ भने एसडीएफले पूर्वी क्षेत्रलाई कब्जामा राखेको छ।

सो क्षेत्रमा आइएसका लडाकुहरुलाई धपाउने क्रममा गत वर्षपनि दुबै पक्षबीच थुप्रै भिडन्तहरु भएका थिए।

एसोसियटेड प्रेस समाचार संस्थाका अनुसार रुसी रक्षा मन्त्रालयले सो हमलाका सम्बन्धमा अमेरिकीहरुले आफूहरुसंग संयोजना नगरेको भन्दै असन्तोष व्यक्त गरेको छ।

सो रुसी मन्त्रालयले उक्त घटनाबाट सिरियामा अमेरिकी उपस्थिति गैरकानुनी भएको भन्दै अमेरिका त्यहां इस्लामिक स्टेट समूहका विरुद्ध लड्न नभई सिरियाको महत्वपूर्ण आर्थिक स्रोत कब्जा गर्न बसेको भन्ने पुष्टि भएको आरोप पनि लगाएको छ।