प्रतिनिधिसभाको नतिजा राष्ट्रपतिसमक्ष पेश

  • 14 फेब्रुअरी 2018
तस्वीर कपीराइट President's Office
Image caption निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिनिधिसभाको चुनावको अन्तिम नतिजा बुझाएको छ

निर्वाचन आयोगले बुधवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधिसभाको चुनावको अन्तिम नतिजाको प्रतिवेदन बुझाएको अधिकारीहरुले जनाएका छन्।

पछिल्लो निर्वाचनवाट राष्ट्रिय दलको मान्यता पाएका पाँच दलहरुलाई बुधवारसाँझ पाँच बजेसम्म समानुपातिक तर्फको सूची सच्याउन समय दिईएको थियो।

दावेदारी

दलहरुले पेश गरेको नामावलीलाई अन्तिम रुपदिदैँ आयोगले प्रतिनिधि सभातर्फको प्रतिवेदन बुझाएको हो।

‘चुनावबाट संक्रमणकालको अन्त्य’

प्रविधि प्रयोगमा निर्वाचन आयोग किन पछाडि?

निर्वाचन आयोगले निर्वाचनको पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले संयुक्त सरकारको दाबेदारी प्रस्तुत गर्ने तयारी गरिरहेको एमालेले जनाएको छ।

समानुपातिक तर्फको नामावलीलाई अन्तिम रुप दिदैँ निर्वाचन सकिएको झण्डै साढे दुई महिनापछि बुधवार राष्ट्रपति समक्ष बुझाउन प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको नतीजाको पूर्ण प्रतिवेदन आयोगले तयार पारेको हो।

गत मंसिर १० गते ३२ जिल्लामा र मंसिर २१ गते ४५ जिल्लामा गरी दुई चरणमा निर्वाचन सम्पन्न भएका थिए।

आयोगले सम्पूर्ण नतिजा राष्ट्रपतिसमक्ष पेश गरेपछि सरकार गठनको बाटो खुल्ने गरी निर्वाचनको सम्पूर्ण प्रकृया सकिएको बताइएको छ।

निर्वाचन आयोगका एकजना आयुक्त ईश्वरीप्रसाद पौडेलले भने, ''प्रतिनिधि सभाको पहिलो हुनेले जित्नेतर्फ र समानुपातिक तर्फको निर्वाचनको नतिजा हामीले राष्ट्रपतिज्यूलाई बुझाइसकेका छौं। राष्ट्रपतिलाई नतिजा बुझाइसकेपछि हाम्रो जिम्मेवारी पूरा हुन्छ, सरकार गठन गर्ने वा संसद् आव्हान गर्ने भन्ने बारेमा अब कसरी अगाडि बढ्छ त्यो राष्ट्रपतिज्यूको कुरा हो त्यो।''

संविधान अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

प्रक्रिया

प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ।

हालको नतिजा बमोजिम एमाले र माओवादी मिल्दा स्पष्ट बहुमत मिल्ने देखिन्छ।

अब सरकार गठनबारे दाबेदारी प्रस्तुत गरिने नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भने, ''निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिसमक्ष प्रस्तुत गर्ने बित्तिकै प्रतिनिधिसभामा बहुमत रहेको तथ्य अवगत गराउँदै हामीले आफ्नो दावा प्रस्तुत गर्छौं। नेकपा एमालेका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नका निम्ति हामीले राष्ट्रपतिसमक्ष आग्रह गर्छौ।''

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार सकेसम्म दलहरूबीच मनमुटाव नहोस् र साझा सहमतिबाट सरकार गठनको विषयको टुंगो लागोस् भन्ने राष्ट्रपतिको मनशाय छ।

प्रधानमन्त्रीले पनि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आजभोली नै राजीनामा गर्ने तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।