प्रधानमन्त्रीद्वारा बजेट अधिवेशनबारे छलफल तिब्र

  • 16 जुन 2010
प्रधानमन्त्री माधवकुमार नेपाल
Image caption प्रधानमन्त्रीले संसदको बजेट अधिवेशन छिट्टै डाक्ने तयारी थालेका छन्

प्रधानमन्त्री माधव कुमार नेपालले ढीलो हुँदै गएको संसदको बजेट अधिवेशन छिट्टै डाक्ने तयारी अगाडि बढाएका छन्।

यो विषयमा उनले मंगलबार राष्ट्रपति र सरकार समर्थक दलहरुसंग छुट्टाछुट्टै छलफल गरेका छन्।

उनको यो तयारी मुख्य विपक्षी दल एकीकृत माओवादीले असहयोग गर्ने भनी दिएको चेतावनीलाई चुनौतीको रुपमा आएको छ।

मनस्थिति

बजेट अधिवेशन डाक्न नियम मिच्नु पर्ने बाध्यता नजिकिंदै गएपछि प्रधानमन्त्री नेपाल जसरी भएपनि अधिवेशन डाक्न तातेका छन्।

आफ्नो राजीनामा मागिरहेको सबभन्दा ठूलो दल विपक्षी माओवादीको सहयोग नभएपनि अगाडि बढ्ने मनस्थिति उनले बनाएजस्तो देखिएको छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघु पन्त भन्छन “अहिलेनै माओवादीले सहयोग गर्दैन भन्ने निष्कर्षमा पुग्न हतार होला र त्यही आधारमा सरकारले आफ्नो नीति कार्यक्रम र बजेट पेश गर्ने कुरालाई परिवर्तन गर्न सक्दैन।“

आफ्नो अठोटको संकेत प्रधानमन्त्रीले मंगलबार राष्ट्रपति रामवरण यादव र संविधान सभाका साना दलहरुलाई छ्ट्टाछुट्टै दिएका थिए।

कुराकानी बजेट अधिवेशनमै केन्द्रित भएको राजनीतिक सल्लाहकार रघु पन्तको भनाई छ।

उनले भने, “राष्ट्रपति र साना दलहरुसंगको छलफलमा बर्खे अधिवेशन सरकारको नीति र कार्यक्रम र बजेटकै कुरा भएको थियो यद्यपि त्यसको मिति तय भइसकेको छैन।“

सार्वजनिक रुपमा दिन खोजेको संकेतको ठीक उल्टो प्रधानमन्त्रीले आफ्ना विश्वासपात्रहरुसंगको कुराकानीमा भने आफुले चाँडै राजीनामा गर्न चाहेको बताएको सुनिएको छ।

केही मानिसहरुका अनुसार त उनली केही दिनमै पदत्याग गर्ने संकेत दिएका छन्।

तर सल्लाहकार पन्त भन्छन, “सुनिएको कुरामा नजाउँ देखिएको कुरा चाही के हो भने यो सरकारको ध्यान नीति कार्यक्रम र बजेट पेश गर्ने संसदको अधिवेशनतिर मात्र छ।“

जग

प्रधानमन्त्रीको दल एमालेका एकजना वरिष्ठ नेता केपी ओलीले भने केही दिन अघि मात्र आफुले प्रधानमन्त्रीलाई पाँचपटक सम्म राजीनामा दिनबाट रोकेको दावी सार्वजनिक रुपमै गरेका थिए।

विश्लेषकहरुका अनुसार गएको जेठ १४ गतेको त्रिदलीय सहमति पछि वर्तमान सरकारको जग नराम्रोसंग हल्लिएको त छ तर चर्किसकेको भने देखिएको छैन।

उनीहरु भन्छन, यो देखिन बजेट अधिवेशन डाक्ने उसको तयारी कसरी अगाडि बढ्छ पहिला त्यो हेर्नु पर्ने हुन्छ।