पूर्वराजा ज्ञानेन्द्र शाह तराईमा व्यस्त

  • 17 जुन 2010
पूर्व राजा ज्ञानेन्द्र
Image caption प‍ूर्व राजाको धार्मिक सक्रियताले कतिपयलाई सशंकित बनाएको छ

राजतन्त्र उन्मूलनपछि तीन वर्ष पूर्णतया मौन बसेका पूर्वराजा ज्ञानेन्द्र शाह तराईका मुख्य शहरका मन्दिर-दर्शनका क्रममा बार पुग्दा उनका समर्थकहरुले "राजा आउ देश बचाउ"को नारा लगाएका थिए।

उनी स्वयं भने मौन रहेका थिए।

पूर्वराजा शाह काठमाण्डूबाट बुद्ध एयरको जहाजबाट बुधबार बारा जिल्लास्थित सिमरामा विमानस्थल ओर्लिएका थिए।

जहाँ ठूलो संख्यामा रहेका समर्थकहरुले उनको जयजयकार गर्दै भन्दै सक्रिय हुन आग्रह गरेका थिए।

जयजयकार गर्नेहरुको भीड विमानस्थलदेखि औद्योगिक करिडोर लिपनीमालसम्म थियो।

उनले भने मुख खोलेनन्।

भेटघाट

त्यसपछि बाराको लिपनीमाल गाउँ विकास समिति पुगेर उनले नवनिर्मित वैष्णवी दूर्गा मन्दिरमा पहिलो पूजा गरेर उदघाटन गरेका थिए।

त्यसपछि उनी आफ्नो स्वामित्व रहेको सूर्य टोबाको कम्पनीको अगाडि रहेको आफन्त प्रभुशम्शेर राणाको आवासमा वास बस्न पुगेका थिए।

प्रचण्ड गर्मीमा त्यहाँ उनले पाँच दिन बिताउने छन्।

हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ पूर्व राजाका समर्थकहरु

उनले पूर्वपञ्च, उद्योगी, व्यवसायी लगायतका समर्थकहरुसित भेँटघाट गर्ने सिलसिलमा शुरु गरिसकेका छन्।

पूजापछि स्थानीय विद्यालयमा केही व्यक्तिहरुसित भेटघाट गरेको मन्दिर निर्माण समितिका अध्यक्ष अमर यादवले बताए।

भेटघाटको निम्ति उनी नजिककैको अर्को शहर वीरगञ्ज पनि पुग्ने छन्।

आफन्तद्वारा सञ्चालित वीरगञ्जको होटेल सम्झनामा उनले सीमित मानिसहरुसँग भेट्ने कार्यक्रम रहेको उनका निजी सचिव सागर तिमल्सिनाले बताए।

बारा र पर्सामा हिन्दूवादीहरु सकृय छन्।

यसअघि वैशाखमा पूर्व युवराज पारस शाह पनि बीरगञ्ज पुगेका थिए ।

करिब तीन वर्ष लामो मौनता र निष्कृयतापछि पूर्वराजा केही महिना अघि जनकपुर र त्यसपछि नेपालगञ्ज गएका थिए।

त्यहाँ उनले सञ्चारमाध्यमलाई अन्तरवार्ता पनि दिएका थिए।