सरकारको नेतृत्वबारे माओवादी अझै अनिर्णित

  • 24 जुन 2010
माओवादी नेताहरु
Image caption माओवादीका धेरै नेता आफ्नै दलको नेतृत्वमा नयाँ सरकार बन्नु पर्ने पक्षमा छन्

प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीको उच्च निकाय पोलिटब्युरोले गत दश दिनदेखि सरकारको नेतृत्वकाबारे छलफल गरिरहेको भएपनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै सरकारको नेतृत्व गर्ने वा नगर्ने भन्नेबारे अझै टुङ्गो लाग्न सकेको छैन।

यद्यपी नयाँ सरकारको नेतृत्व माओवादीले नै गर्नु पर्ने पक्षमा अधिकांस सदस्यहरु रहेको नेताहरुको भनाइ छ।

वैठकमा उठेका विभिन्न विषयहरुमाथि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको पोलिटब्युरो वैठक बिहिबार आवश्यक गृहकार्यको निम्ति भन्दै स्थगित गरियो।

वैठकमा देखिएका बिमतिहरुलाई पन्छाउदै संशोधित प्रतिवेदन तयार गर्न प्रचण्ड नजिकका मानिने कतिपय नेताहरु दिनभर गृहकार्यमा व्यस्त रहे।

मतभेद

माओवादी प्रवक्ता दिनानाथ शर्माका अनुसार दश दिनअघि शुरु भएको पोलिटब्युरो वैठकमा बोल्ने अधिकांश सदस्यहरु शान्ति र संविधान निर्माणलाई तार्किक निश्कर्षमा पुर्‍याउन माओवादीकै नेतृत्वमा नयाँ सरकार बन्नु पर्ने पक्षमा छन्।

उनका अनुसार नयाँ सरकारको नेतृत्व प्रचण्डले गर्ने वा अन्य कसैले गर्ने भन्ने विषयको किनारा पनि संभवत शुक्रबारको वैठकपछि लाग्नेछ।

यद्यपी, उनले भने, कतिपय सदस्यहरु प्रचण्डनै भावि प्रधानमन्त्री बन्नु पर्छ भन्ने पक्षमा छन्।

“सबै कमरेडहरु सक्षम हुनुहुन्छ जो गएपनि हुन्छ; होइन प्रचण्डले नै गर्नु पर्छ भन्नेजस्ता विचारहरु आएका छन्।

“तर हामीले निर्णय गरिसकेका छैनौ।”

तर अर्का नेता टोपबहादुर रायमाझीका अनुसार नयाँ सरकारको नेतृत्व कस्ले गर्ने भन्ने विषयको किनारा लाग्न केही समय लाग्न सक्छ।

“सरकारको नेतृत्व माओवादीले नै नेतृत्व गर्नु पर्छ, तर कुन नेताले त्यो सरकारको नेतृत्व गर्ने भन्ने निर्णय पछि हुनेछ।”

तिब्र चासो

माओवादी प्रतिपक्षमा पनि बस्न सक्छ भनि प्रचण्डले गरेको संकेतलाई उपाध्यक्ष डाक्टर बाबुराम भट्टराइले नरुचाएको बताइन्छ।

उनले माओवादीले नै नयाँ संयुक्त सरकारको नेतृत्व गर्नु पर्नेमा जोड दिएको विषयले केहि दिन अघि निकै चर्चा पाएको थियो।

राजनीतिक गतिरोध तोड्न कठिन भइरहेको बेला माओवादीको जारी पोलिटब्युरो वैठकलाई धेरैले तिब्र चासोका साथ हेरिरहेका छन्।